कामपा वित्तीय सुशासन व्यवस्थापनमा प्रतिबद्ध छ: कार्यवाहक प्रमुख डङ्गोल
काठमाडौँ, १९ कात्तिक: काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वित्तीय सुशासन व्यवस्थापनमा प्रतिबद्धतासहित बेरुजु घटाउँदै शून्य बनाउने लक्ष्यमा कामपा रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को कामपाको अन्तिम लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयका अधिकारीसँगको छलफलमा उहाँले महानगर आर्थिक सुशासन कायम गराउनेतर्फ केन्द्रित रहेको धारणा राख्नुभयो ।
बैठकमा प्रमुख डङ्गोलले खर्च लेख्ने केन्द्रका अधिकारीलाई आग्रह गर्दै भन्नुभयो, “लेखा परीक्षणको प्रारम्भमा लेखापरीक्षकले मागेका कागजात, कारण र प्रमाण दिने, अस्पष्ट कुरालाई बुझाउने काम गर्नुहोला । प्रतिवेदन आइसकेपछि पुष्ट्याइँ गर्न लाग्नुभन्दा प्रतिवेदन बन्नु अघि प्रक्रिया, कागज र प्रमाणबाट विधि प्रमाणित गर्नुहोला । हामी सबैको प्रयासबाट बेरुजु घटाउँदै शून्य बनाउन सक्छौँ ।”
उहाँले अन्तिम लेखापरीक्षकसँगको अपेक्षाका विषयमा भन्नुभयो, “विधि, प्रक्रिया र तोकिएका मापदण्ड तथा नागरिकको आवश्यकता पूर्ति गर्ने कुरामा हामी पूर्ण जिम्मेवार छौँ । वित्तीय अनुशासनमा नियामक निकायबाट प्राप्त भएका सुझावलाई योजना तथा कार्यक्रम तर्जुमादेखि कार्यान्वयनको प्रयास गरेका छौँ । हामीले तयार पारेको आन्तरिक नियन्त्रण प्रणालीले अन्तिम लेखापरीक्षण कार्यलाई सघाउन हुने विश्वास लिएका छौँ ।”
करदाताप्रतिको जिम्मेवारी तथा वातावरणीय, मानवीय सङ्कट व्यवस्थापनको व्यावहारिकताले अन्तिम लेखापरीक्षणलाई गहनता प्रदान गर्ने प्रमुख डङ्गोलको भनाइ छ । उहाँका अनुासर वित्तीय प्रक्रिया सञ्चालन गर्दा हुन सक्ने जोखिम, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखापरीक्षणको प्रभावकारिता र नियन्त्रण, वित्तीय जोखिमको अवस्था मूल्याङ्कन गरिन्छ ।
केन्द्र, वडासहित खर्च हुने ठाउँबाट सञ्चित रकम खर्च गर्दा अपनाउनुपर्ने नियमितता, मितव्ययिता, कार्यदक्षता उपर परीक्षण गर्ने गरी लेखापरीक्षण योजना बनाइएको नायब महालेखापरीक्षक घनश्याम काफ्लेले योजना सुनाउनुभयो ।
कामपाले वित्तीय सुशासनका लागि पूर्वलेखापरीक्षण, आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गरी तीन चरणमा लेखापरीक्षण गर्दै आएको छ । आव २०७१/७२ को नगरपरिषद् (तत्कालीन) को निर्णयअनुसार रु एक लाख ५० हजारसम्मका भुक्तानीमा कामपाले पूर्वलेखापरीक्षण गराउँदै आएको छ ।
कामपाको अन्तिम लेखापरीक्षणका लागि आव २०७३/७४ (२०७४ वैशाख) देखि महालेखापरीक्षकको कार्यालयबाट हुँदै आएको छ । त्यसअघि अनुमति प्राप्त लेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने गरेको थियो । कामपाको केन्द्र, ३२ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजना गरी ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार हुने कामपाले जनाएको छ ।


