Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस-एएफपी)

मस्को, २७ असोज : युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् ।

रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा युरोपेली सङ्घ (इयु) का देशहरूमा सो मूल्यको ऊर्जा आपूर्ति गरिएको बताउनुभयो ।

उहाँका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै २१ अर्ब ३० करोड डलरको रुसी हाइड्रोकार्बन खरिद भएको छ । उहाँले प्रतिबन्धका बाबजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो ।

स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले भने रुसबाट ऊर्जा आयातमा भएको खर्च युक्रेनलाई उपलब्ध गराइएको सहयोगभन्दा बढी रहेको बताउनुभयो ।

युक्रेनमा युद्ध सुरु भएदेखि युरोपेली सङ्घ (इयु) ले २१८ अर्ब ७० करोड युरो अर्थात् २४४ अर्ब डलर सहयोग दिएको उहाँले उल्लेख गर्नुभयो । रोक्का गरिएका रुसी सम्पत्ति प्रयोग गर्न सके युक्रेनलाई दिइएको सहयोग झन्डै दोब्बर बनाउन सकिने उहाँको भनाइ थियो ।

युरोपेली सङ्घ (इयु) ले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्सलगायतका देशले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गरिरहेका छन् । स्लोभाकिया र हङ्गेरीले पाइपलाइनबाट आउने रुसी तेल खरिदमा छुट पाएका छन् ।

भारत र टर्कीजस्ता देशमा प्रशोधन गरी युरोप पुर्‍याइने रुसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैन । यी देश र चीनले सन् २०२२ देखि रुसी कच्चा तेलको खरिद बढाएका छन् ।

यसैबीच, रुसी डिजेल आयात गर्न अमेरिकालाई अनुमति दिने सम्झौताको युरोपेली देशहरूले आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युरोपेली सङ्घ (इयु) ले रुसलाई ऊर्जा खरिदबापत २५० अर्ब डलर तिरेको दाबी गर्दै आफ्नो निर्णयको बचाउ गर्नुभयो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि रुसी डिजेल खरिदसम्बन्धी अमेरिकी सम्झौताको आलोचना गर्ने युरोपेली देशहरूले नै रुसबाट ऊर्जा आयात जारी राखेको भन्दै उनीहरूको व्यवहारलाई पाखण्डको संज्ञा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan