तनहुँ हुलाक कार्यालयमा अन्तरराष्ट्रिय पार्सल सेवा सुरु
दमौली (तनहुँ), २३ असोजः आगामी दिनमा जिल्लाबाटै विभिन्न देशमा पार्सल पठाउन सकिने भएको छ । जिल्ला हुलाक कार्यालय तनहुँले गत सातादेखि अन्तरराष्ट्रिय पार्सल सेवा सञ्चालनमा ल्याएसँगै जिल्लावासीलाई विदेशमा सामान पठाउन अन्य माध्यमबाट महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटेको हो ।
गण्डकी प्रदेशमै पहिलोपटक जिल्ला तहबाट अन्तरराष्ट्रिय पार्सल सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार दुई किलोसम्मको पार्सल अष्ट्रेलिया र अमेरिका पठाउँदा रु दुई हजार ५१०, चीन र संयुक्त अरब इमिरेट्स (यूएई) पठाउँदा रु एक हजार ७९५ र जापान र बेलायत पठाउँदा रु दुई हजार ७० शुल्क तोकिएको छ ।
निजी क्षेत्रका कुरियर सेवाको तुलनामा हुलाकमार्फत पार्सल पठाउँदा कम खर्च लाग्ने उपाध्यायले बताउनुभयो । जिल्लामै अन्तरराष्ट्रिय पार्सल सेवा उपलब्ध भएपछि नागरिकलाई सहज हुनुका साथै हुलाक सेवाप्रति आकर्षण बढ्ने र कार्यालयको राजस्वसमेत वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
जिल्ला हुलाक कार्यालय तनहुँले हाल वार्षिक करिब रु २५ लाख राजस्व सङ्कलन गर्दै आएको छ । अन्तरराष्ट्रिय पार्सल सेवा सुरु भएपछि राजश्व वृद्धि हुने उपाध्यायले बताउनुभयो । पार्सल पठाउँदा स्वघोषणा पत्र र सरकारी कार्यालयबाट जारी फोटोसहितको परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । पार्सलमा पठाइने वस्तु कर्मचारीको रोहबरमा प्याकिङ गर्नुपर्ने तथा कानुनले प्रतिबन्ध गरेका वस्तु पठाउन नपाइने कार्यालयले जनाएको छ ।
