परीक्षाभन्दा पर जीवनका लागि शिक्षा
काठमाडौं । प्रसिद्ध शिक्षाविद् जा‘न डेवीले भनेका छन् –'शिक्षा जीवनको तयारी मात्र होइन' शिक्षा स्वयं जीवन हो ।' यस भनाइले शिक्षा परीक्षा वा प्रमाणपत्रका लागि नभई जीवनका लागि आवश्यक सीप, मूल्य र व्यवहार सिक्ने प्रक्रिया हो भन्ने स्पष्ट गर्छ ।
पुस्तौंदेखि विद्यार्थीको सफलता मुख्यतः परीक्षाको नतिजाबाट मापन हुँदै आएको छ । अभिभावकहरू उच्च अंकमा खुसी हुन्छन् ।
विद्यालयहरू उत्तीर्ण प्रतिशतलाई उपलब्धि मान्छन् र विद्यार्थीहरू उत्कृष्ट नतिजाको पछि लाग्छन् । तर प्रश्न उठ्छ– परीक्षामा सफल विद्यार्थीहरू जीवनका व्यावहारिक चुनौतीमा किन अलमलिन्छन् ?
शिक्षा ज्ञान हस्तान्तरणमात्र नभएर व्यक्तित्व विकासको प्रक्रिया पनि हो । यसले विद्यार्थीलाई सुरक्षित, समावेशी र सहयोगी वातावरणमा अनुकूलनशील, नैतिक र सिर्जनशील बन्न प्रेरित गर्छ ।
अनुभवमा आधारित सिकाइ, सामुदायिक सहभागिता र प्रभावकारी मूल्याङ्कनले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा पर गएर वास्तविक जीवनका चुनौतीको सामना गर्न सक्षम बनाउँछ ।
नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरवलोकन गरिरहेको वर्तमान समय जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो । विद्यालयको उद्देश्य अंक दिलाउनुमात्र होइन आत्मविश्वासी, जिम्मेवार, सिर्जनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नु हो ।
यसका लागि पाठ्यक्रममा जीवनोपयोगी सीपको व्यवस्थित समावेश आवश्यक छ । वित्तीय साक्षरता, सञ्चार सीप, नेतृत्व क्षमता, मानसिक स्वास्थ्य व्यवस्थापन, सामाजिक उत्तरदायित्व, डिजिटल नागरिकता, विपद् तयारी तथा आत्मअनुशासनजस्ता विषयले विद्यार्थीलाई परीक्षा उत्तीर्ण गर्नेमात्र होइन जीवनका विविध परिस्थितिमा सक्षम नागरिक बन्न मद्दत गर्छन् ।
शिक्षाको वास्तविक उद्देश्य प्रमाणपत्र प्रदान गर्नुका साथै व्यक्तिलाई जीवनका हरेक उतारचढावको सामना गर्न सक्षम बनाउनु हो ।
नेपालको शैक्षिक परम्परा
नेपालको शैक्षिक परम्परा व्यावहारिक जीवन शिक्षासँग गहिरो रूपमा जोडिएको थियो । परम्परागत गुरुकुल प्रणालीमा विद्यार्थीलाई शास्त्रसँगै चरित्र निर्माण, अनुशासन, नैतिक आचरण, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व सिकाइन्थ्यो ।
परिवार र समुदायभित्र बालबालिकाले घरायसी काम, खेतीपाती, सामुदायिक सहभागिता तथा सामाजिक व्यवहारमार्फत जीवनोपयोगी सीप सिक्थे ।
यसले उनीहरूलाई आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न मद्दत गथ्र्यो । तर समयसँगै शिक्षा प्रणाली क्रमशः परीक्षा र प्रमाणपत्र केन्द्रित बन्दै गयो । शैक्षिक योग्यतालाई सफलताको मुख्य मापदण्ड मान्न थालियो र जीवनोपयोगी सीपहरू प्राथमिकताबाट ओझेलमा परे ।
परिणामस्वरूप, आज धेरै विद्यार्थी पाठ्यपुस्तकमा दक्ष भए पनि वास्तविक जीवनका चुनौतीको सामना गर्न पर्याप्त रूपमा तयार छैनन् । यही कारणले परम्परागत मूल्य, सीप र संस्कारलाई आधुनिक पाठ्यक्रमसँग पुनः एकीकृत गर्नु आजको आवश्यकता बनेको छ ।
नयाँ पुस्ताका चुनौतीहरू
आजको युवापुस्ताले आफ्ना अभिभावकहरूको पुस्ताले भोग्नुपरेका भन्दा फरक चुनौतीको सामना गरिरहेको छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, प्रतिस्पर्धी श्रम बजार, जटिल वित्तीय प्रणाली तथा तीव्र गतिमा बदलिँदो रोजगारी संसारले नयाँ अवसरसँगै नयाँ दबाब पनि सिर्जना गरेको छ ।
मानसिक स्वास्थ्य समस्या विश्वव्यापीरूपमा किशोरकिशोरीमाझ गम्भीर चिन्ताको विषय बनेको छ जसले उनीहरूको आत्मविश्वास, शैक्षिक उपलब्धि र सामाजिक सम्बन्धमा प्रत्यक्ष असर पारिरहेकोछ ।
इन्टरनेटले ज्ञान र सूचनामा पहुँच सहज बनाए पनि गलत सूचना, साइबर अपराध, डिजिटल ठगी र अनलाइन दुव्र्यवहारका जोखिम बढाएको छ ।
डिजिटल बैंकिङ, अनलाइन भुक्तानी, बीमा, ऋण, लगानी तथा करसम्बन्धी विषयहरू दैनिक जीवनकै हिस्सा त बने तर विद्यालय तहमा विद्यार्थीहरूले यिनको आधार भूत ज्ञानसमेत प्राप्त गर्दैनन् ।
यसले भविष्यमा आर्थिक निर्णय लिन उनीहरूलाई कठिनाइ हुन सक्छ । स्पष्ट छ, नयाँ पुस्ताका चुनौती पाठ्यपुस्तकीय ज्ञानले मात्र समाधान गर्न सकिँदैन । जीवनोपयोगी सीप र व्यावहारिक शिक्षा अपरिहार्य भइसकेका छन् ।
पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयहरू
विद्यालय शिक्षाको उद्देश्य विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउनेमात्र होइन जीवनका विविध चुनौतीको सामना गर्न सक्षम बनाउनु पनि हो । त्यसैले शिक्षालाई जीवनमुखी, व्यावहारिक र समयसापेक्ष बनाउन पाठ्यक्रममा जीवनोपयोगी सीपको समुचित समावेश आवश्यक छ ।
आजको शिक्षा प्रणालीले अंक, प्रमाणपत्र र परीक्षालाई प्राथमिकता दिए पनि वास्तविक शिक्षा भनेको जीवन जिउने कला सिकाउनु हो । शिक्षाले विद्यार्थीको बौद्धिक विकाससँगै भावनात्मक, सामाजिक र नैतिक विकासलाई पनि समान महत्त्व दिनुपर्छ ।
व्यावहारिक ज्ञान, समस्या समाधान क्षमता, वित्तीय साक्षरता, सञ्चार कला, भावनात्मक व्यवस्थापन, सम्बन्ध निर्माण, चरित्र विकास र नैतिकताजस्ता पक्षहरू आधुनिक शिक्षाका आधारभूत अवयव बन्नुपर्छ ।
शिक्षा पाठ्यपुस्तकमा सीमित नभई जीवनका अनुभवसँग जोडिनुपर्छ । करिब दुई दशकअघि विद्यालय तहबाट नैतिक शिक्षा हटाइएपछि आदर, सम्मान, नम्रता, धैर्य र सहयोगजस्ता मानवीय मूल्यहरू क्रमशः कमजोर हुँदै गएको महसुस हुन थालेको छ ।
जिम्मेवार, इमानदार र सामाजिक उत्तरदायित्वबोध भएका नागरिक निर्माणका लागि विद्यालय शिक्षामा नैतिक शिक्षा र संस्कारलाई प्रभावकारी रूपमा पुनः समावेश गर्नु आवश्यक देखिन्छ । शिक्षा विद्यार्थीलाई जीवनका विविध चुनौतीको सामना गर्न सक्षम बनाउने माध्यमका रूपमा विकास गरिनुपर्छ ।
अनुभवमा आधारित सिकाइ, समूहकार्य, छलफल र समुदायसँगको सहभागिताले विद्यार्थीको सिर्जनशीलता, क्षमता र जिम्मेवारीबोध विकास गर्छ । प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिँदा नेतृत्व, सामाजिक व्यवहार र मानवीय गुणहरू अझ प्रभावकारी रूपमा विकसित हुन्छन् ।
यस सन्दर्भमा विद्यालय पाठ्यक्रममा निर्णय क्षमता, समस्या समाधान, समय व्यवस्थापन, भावनात्मक बुद्धिमत्ता, नेतृत्व, टोलीगत कार्य, आत्मअनुशासन, मानसिक स्वास्थ्य, सञ्चार सीप, सामाजिक उत्तरदायित्व, डिजिटल नागरिकता, आत्मरक्षा, विपद् तयारी, पोषण, घरायसी व्यवस्थापन, दिगो जीवनशैली तथा कानुनी अधिकारसम्बन्धी विषयहरू समावेश गर्नुपर्छ ।
यस्ता विषयले विद्यार्थीलाई परीक्षा उत्तीर्ण गर्नेमात्र नभएर जीवनका हरेक क्षेत्रमा सक्षम र आत्मनिर्भर बन्न सहयोग पु¥याउँछन् । वित्तीय साक्षरता विशेषरूपमा महत्त्वपूर्ण विषय हो ।
बचत, बजेट निर्माण, बैंकिङ प्रणाली, कर, डिजिटल भुक्तानी, ऋण व्यवस्थापन तथा लगानीका आधारभूत सिद्धान्तबारे विद्यालय तहदेखि नै ज्ञान दिइनुपर्छ । आर्थिक निर्णयसम्बन्धी यस्ता सीपले भविष्यमा युवालाई आत्मनिर्भर, जिम्मेवार र आर्थिक रूपमा सक्षम बनाउँछन् ।
मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनलाई पनि शिक्षाको अभिन्न अंग बनाइनुपर्छ । बढ्दो शैक्षिक दबाब, सामाजिक प्रतिस्पर्धा र डिजिटल युगका चुनौतीले विद्यार्थीको मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेका छन् ।
आत्मविश्वास वृद्धि, भावनात्मक सन्तुलन, तनाव व्यवस्थापन तथा आवश्यकता पर्दा सहयोग खोज्ने सीप विकास गर्न सके विद्यार्थीहरू मानसिक रूपमा सबल र जीवनका चुनौतीको सामना गर्न सक्षम बन्न सक्छन् । सञ्चार सीप तथा सार्वजनिक वक्तृत्वकलाको विकासले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता बढाउँछ ।
बहस, प्रस्तुतीकरण, सिर्जनात्मक लेखन तथा अन्तरव्यक्तिगत संवादका अभ्यासले उनीहरूलाई सामाजिक तथा व्यावसायिक जीवनमा सफल हुन मद्दत पु¥याउँछ । नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश भएकाले विपद् व्यवस्थापन र तयारीसम्बन्धी शिक्षा पनि अनिवार्य हुनुपर्छ ।
प्राथमिक उपचार, आगलागी नियन्त्रण, उद्धार प्रक्रिया तथा जलवायु परिवर्तनसम्बन्धी आधारभूत ज्ञानले सुरक्षित र जिम्मेवार नागरिक निर्माणमा योगदान पु¥याउँछ ।
समयको आवश्यकताअनुरूप शिक्षालाई सीप, रोजगार र उद्यमशीलतासँग जोड्दै पाठ्यक्रम परिमार्जन गर्न सकियो भने विद्यालयले जीवनका वास्तविक चुनौतीको सामना गर्न सक्षम, जिम्मेवार, सचेत र आत्मनिर्भर नागरिक तयार गर्नेछ ।
अन्तर्राष्ट्रिय अभ्यास
धेरै देशहरूले परीक्षा केन्द्रित शिक्षाबाट जीवनमुखी शिक्षातर्फ ध्यान केन्द्रित गरेका छन् । फिनल्यान्डले जीवन सीप, मानसिक सन्तुलन र व्यावहारिक शिक्षालाई प्राथमिकता दिएको छ ।
जापानमा विद्यार्थीहरूले विद्यालयमै सरसफाइ गरेर जिम्मेवारीबोध र टिमवर्कको भावना विकास गर्छन् । सिंगापुरले चरित्र निर्माण र नागरिक शिक्षामा जोड दिएको छ ।
अस्ट्रेलिया र न्युजिल्यान्डले वित्तीय साक्षरता, आत्मविकास र वास्तविक जीवनका समस्या समाधानलाई शिक्षाको अभिन्न हिस्सा बनाएका छन् । यी अभ्यासले शैक्षिक उत्कृष्टता र जीवनोपयोगी सीप एकअर्काका पूरक हुन् भन्ने स्पष्ट गर्छन् ।
सुधारका लागि उपयुक्त समय
नेपालमा भइरहेको पाठ्यक्रम पुनरावलोकन शिक्षालाई नयाँ दिशा दिने महत्त्वपूर्ण अवसर हो । जीवनोपयोगी सीपका लागि छुट्टै परीक्षा आवश्यक पर्दैन ।
परियोजनामूलक सिकाइ, कार्यशाला, सामुदायिक सेवा, प्रयोगात्मक अभ्यास तथा अनुभवमा आधारित शिक्षामार्फत यस्ता विषय प्रभावकारी रूपमा सिकाउन सकिन्छ । परीक्षा मूल्याङ्कनको एउटा माध्यम त हो तर जीवनको अन्तिम लक्ष्य होइन ।
डिग्रीले रोजगारीको ढोका खोल्न सक्छ तर जीवनोपयोगी शिक्षाले व्यक्तिलाई सुखी, सन्तुष्ट र सफल जीवन जिउन सिकाउँछ । त्यसैले शिक्षाको उद्देश्य प्रमाणपत्र बाँड्नुमात्र नभई व्यक्तिलाई जीवनका उतारचढावको सामना गर्न सक्ने सक्षम बनाउनु हो ।
नेपालले भावी पुस्ताका लागि शिक्षा प्रणाली निर्माण गर्दा अब प्रश्न æविद्यार्थीले के जान्नुपर्छ?' भन्नेमात्र होइन æविद्यार्थीले जीवनमा सफल हुनका लागि के गर्न सक्नुपर्छ?' भन्ने पनि हुनुपर्छ ।
वर्तमान पाठ्यक्रम सुधारले यही दृष्टिकोण आत्मसात् गर्न सकेमा नेपालले प्रमाणपत्रधारीमात्र होइन आत्मनिर्भर, जिम्मेवार, आर्थिक रूपमा सचेत र मानसिक रूपमा सबल नागरिकहरूको नयाँ पुस्ता तयार गर्न सक्नेछ । स्याङ्जा बुलेटिनका साथमा ।
