Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | रासस
newsabhiyan

 म्याग्दी, २२ असोजः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । 

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले २५० मिटर सडक कटान गरेर बगाएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको जानकारी दिनुभयो । 

    “बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि बेससहित कालीगण्डकीले सडक बगाएर कुनौटामा पैदलयात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “चार दिनको प्रयासमा कुनौटामा दुईतर्फबाट जोडिएको सडकलाई फिलिङ, लेभल मिलाउने र सवारीसाधन सञ्चालन गर्न योग्य बनाउन थप एक÷दुई दिन लाग्न सक्छ ।”

    बुधबार कुनौटामा दुईतर्फबाट छ वटा एक्साभेटर र त्यतिकै सङ्ख्यामा माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो । पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटाबाहेकका ठाउँमा प्रारम्भिक मर्मत कार्य सकिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । 

    पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको वर्षात्पछिको बाढीपहिरोले ५५ ठाउँमा अवरुद्ध बनेको थियो । असोज ८ देखि ११ गतेको झरिपछि कालीगण्डकीमा आएको बाढीले १० ठाउँमा सडक कटान गरेर बगाएको र भत्काएको छ । 

    मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठूला सवारीसाधन सञ्चालन हुनेगरी मर्मत भएको छ । पोखरेबगर देखि कुनौटाको बीचमा पर्ने रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने र नयाँ मार्ग बनाएको ठाउँमा ग्रेड, घुम्ती मिलाउने, फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । 

    पोखरेबगर पुलमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकले जोड्ने संरचना तयार पार्ने काम भइरहेको छ । आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजनाका प्राविधिक विनोद पौडेलले बताउनुभयो । 

    सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो । 

    राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ । 

    सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । 

    “सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७३÷७४ मा सुरु भएको यस आयोजनामा यसपालीको विपद्ले हालसम्मकै ठूलो क्षति पु¥याएको छ ।” रु ८० करोडदेखि ९० करोड क्षति पुगेको यो सडक पुनर्निर्माणका लागि रु तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ । 

    रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको छ । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । 

     काठमाडौँलगायतका सहरमा चीनबाट आयात गरिएका सामान बोकेर आउका ५०० वटा कन्टेनर सडक मर्मत सकिँदाबित्तिकै गन्तव्यतर्फ जानका लागि प्रतीक्षा गरिरहेका छन् । मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ, तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan