Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार करोड बढीको अवैध सामान बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | रासस

 भद्रपुर (झापा), २२ असोजः सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी–निकासी र पैठारीका रु चार करोड १५ लाख ६२ हजार ३७३ मूल्य बराबरका सामान बरामद गरेको छ ।

    गणका अनुसार गत साउनमा रु एक करोड ५५ लाख पाँच हजार ६२६, भदौमा रु एक करोड ४८ लाख एक हजार ८१८ र असोज महिनाको हालसम्म रु एक करोड १२ लाख ५४ हजार ९२९ मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो । आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा रु दुई करोड २० लाख ८९ हजार ५७८ मूल्य बराबरका अवैध सामान बरामद भएको थियो । 

    भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीमा सङ्लग्न चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसहित आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ ।

    झापास्थित सशस्त्र प्रहरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि निगरानी र सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले अवैध गतिविधि नियन्त्रणका लागि भन्सार, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

    “चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै नाकाबाटै अवैध गतिविधि नियन्त्रण गर्ने गरी परिचालन भइरहेका छौँ,” उहाँले भन्नुभयो । सशस्त्र प्रहरीले राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा निगरानी बढाएको जनाएको छ । चालु आवको हालसम्म ५८ दशमलव ८९ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ । लागूऔषध ओसारपसारमा सङ्लग्न दुई महिलासहित १५ जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सुजित विष्टले जानकारी दिनुभयो ।

    यसैगरी, नदीजन्य पदार्थको नियमविपरीत उत्खनन तथा ओसारपसारमा प्रयोग भएका २६ वटा सवारीसाधन नियन्त्रणमा लिई रु छ लाख ५० हजार जरिवाना गरिएको छ ।

    सूचना अधिकारी विष्टका अनुसार राजस्व चुहावट नियन्त्रणमा खटिएका सम्बन्धित निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गर्दै सशस्त्र प्रहरी सीमा क्षेत्रमा निरन्तर परिचालित हुँदै आएको छ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा परिचालन बढाउँदा अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट न्यूनीकरणमा सहयोग पुगेको उहाँले बताउनुभयो । 

    सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको बताउनुभयो । सीमा क्षेत्रमा कुनै पनि प्रकारका गैरकानुनी गतिविधि हुन नदिन मातहतका युनिटलाई आवश्यक निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan