Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशैं–तिहारमा प्रहरीको ‘फुल फोर्स’ : ५० हजारभन्दा बढी प्रहरी मैदानमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

ठगीदेखि तस्करीसम्म निगरानी, सीमा नाकादेखि बजारसम्म सुरक्षा कडा

काठमाडौं, २१ असोज । नेपालीहरूको महान् पर्व बडादशैं, तिहार, नेपाल संवत् र छठ नजिकिँदै गर्दा नेपाल प्रहरीले देशभरको सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ। चाडपर्वको भीड, यात्रुको चाप, आर्थिक कारोबारमा हुने वृद्धि र धार्मिक–सांस्कृतिक गतिविधिलाई लक्षित गर्दै प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३ कार्यान्वयनमा ल्याएको हो।

चाडपर्वको उल्लाससँगै चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अवैध सट्टेबाजी, अनलाइन ठगी, बैंकिङ अपराध, नक्कली नोटको कारोबारदेखि सीमा नाकाबाट हुने तस्करीसम्मका जोखिम बढ्ने भएकाले प्रहरीले परम्परागत सुरक्षा प्रणालीसँगै प्रविधिमा आधारित निगरानीलाई प्राथमिकता दिएको छ।

यसपटकको सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातै प्रदेशबाट गरी ५० हजार ४ सय ५८ प्रहरी जनशक्ति परिचालन हुँदैछन्। सुरक्षा योजना केवल बजार र सडकमा प्रहरी खटाउनेमा सीमित छैन।

सम्भावित अपराधको पूर्वानुमान, सूचना संकलन, डिजिटल निगरानी, यात्रु सहायता, सीमा सुरक्षा, भीड व्यवस्थापन र आकस्मिक उद्धारसम्मलाई योजनामा समेटिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार चाडपर्वमा भरपर्दो सुरक्षा कायम गर्न परम्परागत शैलीभन्दा प्रविधिमा आधारित निगरानीलाई प्राथमिकता दिइएको छ।

उनका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष ध्यान दिइएको छ। यसका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी प्रहरी परिचालन गरिएको छ।

५० हजारभन्दा बढी प्रहरी मैदानमा

विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट ७ हजार ६ सय ६८, कोशी प्रदेशबाट ८ हजार १ सय ३३, मधेश प्रदेशबाट ७ हजार २ सय ३०, बागमती प्रदेशबाट ४ हजार ४ सय ९९, गण्डकी प्रदेशबाट ५ हजार १ सय ८८, लुम्बिनी प्रदेशबाट ७ हजार ९ सय २१, कर्णाली प्रदेशबाट ५ हजार ३ सय १४ र सुदूरपश्चिम प्रदेशबाट ४ हजार ५ सय ५ प्रहरी परिचालन हुनेछन्।

यसरी हेर्दा दशैं–तिहारलगायतका पर्वमा सुरक्षा व्यवस्थापनका लागि देशभर ठूलो संख्यामा प्रहरी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित हुनेछ। विशेष गरी काठमाडौं उपत्यका तथा प्रमुख शहरका मुख्य बजार, सपिङ मल, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक र चोक, शहरका प्रवेश तथा निकास नाका र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।

घर खाली गरेर गाउँ जानेका लागि पनि निगरानी

दशैंमा ठूलो संख्यामा नागरिक काठमाडौं उपत्यका र प्रमुख शहरबाट गाउँ फर्किन्छन्। यसले शहरका कतिपय बस्ती केही दिनका लागि सुनसान बन्ने भएकाले खाली घरमा चोरी तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्ने गर्छ।

यही जोखिमलाई ध्यानमा राख्दै प्रहरीले लामो समय घर छाडेर जाने नागरिकलाई झ्यालढोका राम्रोसँग बन्द गर्न, ग्यास तथा विद्युत् उपकरण जाँच गर्न र घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ।
भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।

सडक सुरक्षामा ‘तीन तहको’ चेकजाँच

चाडपर्वमा सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो—सडक दुर्घटना। दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अत्यधिक हुने भएकाले प्रहरीले सवारी सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ।

उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधनका चालकको सवारी चालक अनुमति पत्र, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरे–नगरेको, सवारीको सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र दुई जना चालक भए–नभएको जाँच गरिनेछ।

त्यसैगरी Traffic Communication Application (TCA) को प्रयोगमार्फत लामो दूरीका सवारीसाधनमा चालकसम्बन्धी विवरण परीक्षण गरिनेछ। प्रत्येक सवारीसाधनको मेकानिकल परीक्षण गरिएको प्रमाणपत्रसमेत जाँच गरिने प्रहरीले जनाएको छ।

देशभर ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरी १ हजार १ सय ६५ प्रहरी जनशक्ति परिचालन गरिएको छ। यात्रु सहायता कक्षबाट यात्रुलाई सूचना तथा आवश्यक सहायता उपलब्ध गराउने, हराएका वा भेटिएका व्यक्ति तथा सामानको समन्वय गर्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता प्रदान गरिनेछ।

सीमा नाकामा पनि कडा निगरानी

चाडपर्वको समयमा खुला सीमाबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागूऔषध भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७ सय ५ प्रहरी जनशक्ति परिचालन गरिएको छ।

सीमा क्षेत्रमा पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती र राजमार्गमा क्रस–पट्रोलिङलाई प्रभावकारी बनाउने प्रहरीको तयारी छ। तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि स्थानीय सुरक्षा संयन्त्रसँग समन्वयसमेत बढाइनेछ।

अब अपराधीको गतिविधि सडकमा मात्र होइन, मोबाइलमा पनि खोजिने

प्रहरीको यसपटकको सुरक्षा योजनाको अर्को महत्वपूर्ण पक्ष हो—डिजिटल निगरानी। चाडपर्वका बेला सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, ठगीका विज्ञापन, नक्कली अनलाइन सपिङ, बैंकिङ ठगी तथा फिसिङमार्फत हुने अपराध नियन्त्रण गर्न प्रहरीले डिजिटल सूचनाको विश्लेषण गर्ने जनाएको छ।

नागरिकलाई OTP, PIN, Password, Banking Credential लगायतका गोप्य विवरण कसैलाई नदिन प्रहरीले आग्रह गरेको छ। शंकास्पद लिंक, QR Code, Lottery तथा आकर्षक Online Festival Offer का नाममा आउने प्रस्तावमा विश्वास नगर्न पनि आग्रह गरिएको छ।

अझ महत्वपूर्ण रूपमा प्रहरीले AI बाट बनाइएका आवाज तथा भिडियो प्रयोग गरेर आफन्त वा अधिकारीको नाममा रकम माग्ने प्रवृत्तिप्रति समेत सचेत रहन नागरिकलाई अनुरोध गरेको छ। प्रविधिको विकाससँगै अपराधको शैली पनि बदलिँदै गएकाले सुरक्षा संयन्त्रले डिजिटल अपराधलाई सुरक्षा चुनौतीकै रूपमा लिएको देखिन्छ।

सिसिटिभीदेखि ड्रोनसम्म

सुरक्षा व्यवस्थामा सिसिटिभी क्यामेरा, Body-Worn Camera, ड्रोन, तालिमप्राप्त कुकुर र आधुनिक प्रहरी सञ्चार प्रणालीको प्रयोग गरिनेछ। प्रहरी सञ्चार प्रणालीमार्फत Real Time सूचना आदानप्रदान गरी घटनाको तत्काल पहिचान र प्रतिक्रिया जनाउने व्यवस्था मिलाइएको छ। जोखिमका आधारमा Command Post र Quick Response Team (QRT) परिचालन गरिनेछ।

यसले कुनै एउटा स्थानमा भएको घटना तत्काल नियन्त्रण गर्न मात्र नभई त्यसको प्रभाव अन्य स्थानमा फैलिन नदिनसमेत सहयोग पुग्ने प्रहरीको अपेक्षा छ।

जुवा, बेटिङ र नक्कली नोटमा विशेष निगरानी

चाडपर्वमा मनोरञ्जनका नाममा हुने जुवातास, अवैध सट्टेबाजी तथा बेटिङलाई पनि प्रहरीले निगरानीको दायरामा राखेको छ। त्यसैगरी नक्कली नोटको कारोबार, अवैध हुण्डी, चोरी, लुटपाट, ठगी तथा अन्य आर्थिक अपराध नियन्त्रणमा विशेष प्रहरी परिचालन हुनेछ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने क्षेत्र र ठूलो आर्थिक कारोबार हुने स्थानमा सुरक्षा निगरानी बढाइनेछ।

सुरक्षा प्रहरीको मात्र जिम्मेवारी होइन

नेपाल प्रहरीले चाडपर्वको सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभएको स्पष्ट पारेको छ। स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रहरीको योजना छ। शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई सूचना दिन नागरिकलाई आग्रह गरिएको छ।

दशैं–तिहारको रमाइलोबीच एउटा सानो असावधानीले ठूलो क्षति निम्त्याउन सक्ने भएकाले प्रहरीको सुरक्षा तयारीसँगै नागरिकको सतर्कता पनि उत्तिकै महत्वपूर्ण हुने देखिन्छ।

प्रहरीले मादक तथा लागूपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीडभाडमा एक्लै नछाड्न र जुवातास तथा अवैध सट्टेबाजीबाट टाढा रहन आग्रह गरेको छ।

नेपाल प्रहरीले यसपटकको सुरक्षा व्यवस्थाको मूल आधार ‘सूचना–प्रविधि–प्रहरी परिचालन–नागरिक सहकार्य’ लाई बनाएको छ। अर्थात्, चाडपर्वमा सुरक्षा केवल प्रहरीको उपस्थितिले होइन, सूचना प्रवाह, प्रविधिको प्रयोग, तीव्र प्रहरी परिचालन र नागरिकको सतर्कताले तय गर्ने रणनीति अघि सारिएको छ।

सन्देश स्पष्ट छ—चाडपर्व उल्लासका साथ मनाऔँ, तर सुरक्षा सावधानीलाई उत्सवभन्दा बाहिर नराखौँ। प्रहरीले भनेको छ, “ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईंहरूको साथमा छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan