क्युबेकमा पृथकतावादीको परीक्षा
मन्ट्रियल (क्यानाडा), १९ असोज : क्यानाडाको फ्रान्सेलीभाषी प्रान्त क्युबेकमा सोमबार हुने निर्वाचनले १२ वर्षदेखि विपक्षमा रहेको पृथकतावादी पार्टी क्युबेकोइस (पिक्यू) को पुनरागमनसँगै प्रधानमन्त्री मार्क कार्नीको राष्ट्रिय एकताको सन्देशसमेत परीक्षण गर्ने भएको छ ।
हालैका सर्वेक्षणमा स्वतन्त्र क्युबेकका पक्षमा करिब ३० प्रतिशत समर्थन देखिएको छ । पिक्यूले पनि करिब ३० प्रतिशत समर्थन पाए पनि पहिलो हुने निर्वाचित हुने प्रणालीका कारण मत विभाजित हुँदा १२७ सदस्यीय राष्ट्रिय सभामा बहुमत हासिल गर्न सक्ने अवस्था रहेको बताइएको छ । विज्ञहरूका अनुसार पिक्यूको पुनरागमन क्यानाडाबाट अलग हुने चाहनाभन्दा महँगी, जीवनयापनको कठिनाइ र सार्वजनिक सेवामा आएको गिरावटप्रतिको असन्तुष्टिसँग बढी जोडिएको छ ।
पिक्यू नेता पल सेन्ट–पियरे प्लामन्डनले निर्वाचित हुनुभएमा क्यानाडाबाट अलग हुने विषयमा जनमतसङ्ग्रह गराउने बताउनुभएको छ । उहाँले कम्तीमा सन् २०२९ सम्म जनमतसङ्ग्रह नगर्ने जनाउँदै क्युबेकको स्वतन्त्रताबारे ‘सूचित र शान्त बहस’ आवश्यक रहेको बताउनुभएको छ ।
क्युबेकमा यसअघि सन् १९८० र १९९५ मा स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह भएका थिए । सन् १९९५ मा क्यानाडामै रहने पक्षले ५०.५८ प्रतिशत मत प्राप्त गरेको थियो ।
प्लामन्डनले कार्नी नेतृत्वको सङ्घीय सरकारसँगको सम्बन्ध ‘शक्तिको सन्तुलन’ मा आधारित हुने बताउनुभएको छ । उहाँले क्युबेकलाई सम्मान गरिए मात्र सहयोग हुने उल्लेख गर्नुभएको छ । कार्नीले भने ‘सहकारी सङ्घीयताको भावनामा अर्को क्युबेक प्रधानमन्त्रीसँग’ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, क्युबेकमा पृथकतावादी शक्तिको सम्भावित पुनरागमनसँगै तेलसम्पन्न अल्बर्टा प्रान्तमा पनि यसै महिना स्वतन्त्रताबारे गैरबाध्यकारी मतदान हुँदैछ ।
प्लामन्डनले ब्रिटिस राजतन्त्रको अन्त्य गर्ने प्रस्तावसमेत अघि सार्नुभएको छ । सन् २०२५ को लेगर सर्वेक्षणमा ८७ प्रतिशत क्युबेकवासीले बेलायती राजतन्त्रसँग लगाव नरहेको बताएका थिए । उहाँले लेफ्टिनेन्ट गभर्नरका लागि छुट्याइएको बजेट घरबारविहीनता न्यूनीकरणमा प्रयोग गर्ने प्रस्तावसमेत गर्नुभएको छ ।
