मलेसियाबाट यस वर्ष करिब १० हजार म्यान्माली स्वदेश फर्किए
याङ्गुन, १९ असोज : मलेसियाबाट यस वर्ष नौ हजार ५१७ जना म्यान्माली नागरिक स्वदेश फर्किएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
यो सङ्ख्यामा विमान र जहाजमार्फत फर्काइएका नागरिक समावेश छन् । मलेसियाबाट करिब एक हजार ५०० नागरिक बोकेको जहाज याङ्गुनमा फर्किएको एक दिनपछि सोमबार यस्तो विवरण सार्वजनिक गरिएको हो ।
म्यान्माको सरकारी अखबार ‘द ग्लोबल न्यू लाइट’ का अनुसार यस वर्ष जनवरीदेखि अगस्टसम्म आठ हजार ४१ जना नागरिक हवाई मार्गबाट स्वदेश फर्किएका छन् । त्यसबाहेक आइतबार एक हजार ४७६ जना म्यान्माली नागरिक बोकेको जहाज याङ्गुनको दक्षिणमा रहेको थानलिनमा पुगेको थियो ।
मलेसियामा आप्रवासीविरोधी भावना बढिरहेका बेला क्वालालम्पुरले म्यान्मा फर्काउन सहमत भएका पाँच हजार नागरिकमध्ये पहिलो समूहका रूपमा आइतबार एक हजार ४७६ जना स्वदेश फर्किएका हुन् ।
जहाजबाट फर्काइएका उनीहरूलाई याङ्गुन बाहिर रहेको एक मठमा बनाइएको अस्थायी केन्द्रमा राखिएको र परिचय तथा स्वास्थ्य परीक्षण गरिएको एएफपीका पत्रकारले बताएका छन् ।
म्यान्माले सोमबार विमानमार्फत भइरहेको ठूलो परिमाणको स्वदेश फिर्ती प्रक्रियाबारे पनि जानकारी दिएको छ । मलेसियाले जहाजमार्फत गरिएको स्वदेश फिर्तीको व्यापक प्रचार गरे पनि म्यान्माको व्यवस्थापनमा साप्ताहिक उडानमार्फत भइरहेका फिर्तीबारे भने क्वालालम्पुरले कुनै टिप्पणी गरेको छैन ।
मलेसियाले हिरासत केन्द्रमा रहेका नागरिकलाई स्वेच्छिक रूपमा स्वदेश फर्कन सहमत गराइएको बताउँदै आएको छ । म्यान्माले उनीहरूले आप्रवासनसम्बन्धी अपराधमा सजाय भोगेपछि ‘कठिनाइको सामना’ गरिरहेको जनाएको छ । तर अधिकारवादी समूहहरूले हिरासत केन्द्रमा गम्भीर अवस्था रहेको बताउँदै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त म्यान्मामा सुरक्षित रूपमा फर्कने सुनिश्चितता नभएको भन्दै मलेसियाले अपारदर्शी प्रक्रियामार्फत आप्रवासीलाई स्वदेश फर्काउन गरिरहेको दबाबको आलोचना गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले फर्कने निर्णय वास्तवमै स्वतन्त्र र पूर्ण जानकारीका आधारमा गरिएको हो भन्ने पुष्टि गर्न आफ्ना कर्मचारीलाई अनुमति नदिइएको जनाएको छ ।
अधिकार पर्यवेक्षकहरूले मलेसियाबाट फर्काइएका नागरिकमा रोहिङ्ग्या समुदायका सदस्यसमेत पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
रोहिङ्ग्या समुदायले म्यान्मामा लामो समयदेखि हिंसात्मक उत्पीडनको सामना गर्दै आएको अधिकार समूहहरूको भनाइ छ । यद्यपि मलेसियाले फर्काइएका व्यक्तिहरूको जातीय पहिचानबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।
सन् २०२१ मा म्यान्मामा सैन्य शासनविरुद्धको द्वन्द्व सुरु भएयता एक लाखभन्दा बढी मानिस मारिएको द्वन्द्व निगरानी संस्था एसिएलइडीले जनाएको छ ।
सन् २०१७ मा म्यान्माको सैन्य दमनबाट बच्न ठूलो सङ्ख्यामा रोहिङ्ग्या मलेसिया पलायन भएका थिए । अधिकार समूहहरूले उक्त दमनलाई नरसंहारका रूपमा वर्णन गर्दै आएका छन् भने म्यान्माको सेनाले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार मलेसियामा रहेका करिब एक लाख ९० हजार म्यान्माली शरणार्थी तथा शरण खोज्ने व्यक्तिमध्ये दुई तिहाइ रोहिङ्ग्या समुदायका छन् । पछिल्लो समय मलेसियामा बढेको आप्रवासीविरोधी भावनाको केन्द्रमा पनि उनीहरू परेका छन् ।
यसैबीच, याङ्गुनको बाहिरी क्षेत्रमा रहेका आफ्ना आफन्त तथा परिवारका सदस्यसँग फर्किएका नागरिकको शीघ्र पुनर्मिलन गराउन आवश्यक व्यवस्था भइरहेको म्यान्माको ‘द ग्लोबल न्यू लाइट’ ले जनाएको छ । सरकारले उनीहरूलाई आ–आफ्नो गृहनगरमा सुरक्षित रूपमा फर्काउने व्यवस्था भइरहेको बताएको छ ।
