नरहरि आचार्यको ऐनामा राजनीति : व्यवस्था होइन, व्यवहारको संकट
काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्य यतिबेला सक्रिय राजनीतिमा हुनुहुन्न्। लामो समयदेखि स्वास्थ्यका कारण विश्राममा रहेका उहाँ—यता आफूलाई लागेको कुराहरू बोल्न थाल्नु भएको छ। तर, सकृय राजनीतिबाट टाढा भए पनि उहाँको राजनीतिक दृष्टि टाढिएको छैन।
बरु अध्ययन, अनुभव र लामो राजनीतिक यात्राको पुनरावलोकनबाट निस्किएका उहाँका पछिल्ला विचार अहिले कांग्रेसका लागि अझ गम्भीर भएर आएका छन्। यसले अरू पुराना पार्टीहरूलाई पनि ऐना देखाएको छ।
गणतन्त्र र संविधानसभाको पक्षमा नेपाली कांग्रेसलाई उभ्याउन महत्वपूर्ण भूमिका खेलेका आचार्य कांग्रेसभित्र वैचारिक तथा सैद्धान्तिक बहसका एक अलग पात्र हुन्।
संविधानसभा कांग्रेसको पुरानै माग भएको ऐतिहासिक सन्दर्भ सम्झाउँदै उहाँ आफूले नयाँ कुरा आविष्कार गरेर होइन, कांग्रेसकै इतिहास पढेर संविधानसभाको पक्षमा अडान लिएको बताउँनु हुन्छ।
लोकतन्त्र, गणतन्त्र र संघीय राजनीतिक संरचनालाई संस्थागत गर्ने यात्रामा उहाँको भूमिका त्यसैले केवल एउटा नेताको राजनीतिक यात्राभन्दा, सबै समकालिनहरूका भन्दा फराकिलो छ।
यही पृष्ठभूमिमा अहिले उहाँले पुराना राजनीतिक दलका बारेमा गरेको टिप्पणी विशेष अर्थपूर्ण छ। आचार्यको भनाइ छ—पुराना दलमाथि लगाइएको सैद्धान्तिक आरोप ठीक थिएन, तर व्यवहारको आरोप ठीकै थियो।
भ्रष्टाचार र अकुत धनसम्पत्ति जोड्नेतर्फ दलहरू लागे, र जति ठूलो क्रान्ति तथा आन्दोलन गरे पनि अन्ततः उनीहरूले त्यसको मर्म बिर्सिए। यो आरोप उहाँले कुनै एक दलमाथि मात्र लगाउनु भएको छैन; माओवादी, कांग्रेस र एमाले सबैलाई एउटै राजनीतिक विचलनको घेरामा राख्नु भएको छ।
उहाँका अनुसार पुराना दलहरूले बोकेको सिद्धान्त वा उनीहरूले इतिहासमा गरेका आन्दोलन र क्रान्तिको उद्देश्य नै गलत थियो भन्न मिल्दैन। बरु समस्या उनीहरूको व्यवहारमा आएको विचलन हो।
अर्थात्, जुन राजनीतिक आदर्श, मूल्य र परिवर्तनका लागि उनीहरूले जनतालाई संगठित गरे, सत्ता प्राप्त गरेपछि त्यही आदर्शबाट उनीहरू टाढिँदै गए।
आचार्यको यो स्वीकारोक्ति सामान्य राजनीतिक आलोचना होइन। आफूले लामो समयदेखि विश्वास गरेको राजनीतिक धारको तथा अन्य पार्टीका पनि समकालिन नेताहरूका कमजोरीलाई आफ्नै अनुभवबाट हेरेर गरिएको आत्मपरीक्षण हो। त्यसैले उहाँको भनाइको सबैभन्दा महत्वपूर्ण पक्ष ‘पुराना दल खराब थिए’ भन्ने होइन; उनीहरूका आदर्श खराब थिएनन्, उनीहरूको आचरण आदर्श अनुकूल रहेन भन्ने हो।
यही कुरा नेपाली कांग्रेसले अहिले सबैभन्दा गम्भीरतापूर्वक सुन्नुपर्ने भएको छ। कांग्रेस १५औँ महाधिवेशनको संघारमा छ। आचार्यकै शब्दमा, यो महाधिवेशन प्राविधिक रूपमा सम्पन्न भएर मात्र हुँदैन; यसले कांग्रेसको प्रतिष्ठा पुनर्जागरण गर्न सक्नुपर्छ।
कांग्रेसको स्थापना सत्ता प्राप्तिका लागि नभई स्वतन्त्रता र लोकतन्त्रका लागि भएको स्मरण अझ गहिरो छ। त्यसैले कांग्रेसले अब सत्ता फर्काउने मात्र होइन, आफ्नो प्रतिष्ठा फर्काउने राजनीति गर्नुपर्छ।
तर यो आत्मपरीक्षण कांग्रेसका लागि मात्र पर्याप्त छैन। जेन–जी आन्दोलनपछि नेपालको राजनीतिमा एउटा गम्भीर प्रश्न उठेको छ—के समस्या वर्तमान राजनीतिक व्यवस्था नै हो, कि यही व्यवस्थाभित्र विकसित भएको राजनीतिक आचरण हो?
जेन–जी आन्दोलनले भ्रष्टाचार, बेथिति, जवाफदेहिता र पुस्तान्तरणका प्रश्नलाई अत्यन्त शक्तिशाली ढंगले अगाडि ल्यायो। आन्दोलनका क्रममा राज्य र आन्दोलनकारी दुवै पक्षबाट कम बेसी हिंसा भयो, सार्वजनिक तथा राष्ट्रिय सम्पत्तिमा ठूलो क्षति पुग्यो।
त्यसपछि संसदीय, संघीय र गणतन्त्रात्मक व्यवस्थाकै औचित्यमाथि प्रश्न उठाउने स्वरहरू पनि बलिया भए। तर त्यही घटनाक्रमले एउटा अर्को कठोर सत्य पनि देखायो।
आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक शक्ति पनि अन्ततः जनताको अनुमोदन लिन यही संसदीय व्यवस्थाको निर्वाचनमा आउनुपर्यो। सरकार बनाउन यही संविधान र यही राज्यसंरचनाको सहारा लिनुपर्यो।
यो विरोधाभास होइन; लोकतन्त्रको शक्ति हो।
लोकतान्त्रिक बिधीबाट परिवर्तनलाई अनुमोदन गर्ने पद्दति हो। आन्दोलनले व्यवस्था परिवर्तन गर्न सक्ने प्रश्न उठाउन सक्छ, तर अन्ततः जनताको सार्वभौम निर्णयबाट वैधता प्राप्त गर्ने बाटो निर्वाचन नै बन्न पुग्छ। आगोको दावानलमा झोसिएको नेपालमा धेरै थोक जल्यो, वर्तमान संविधानका हजारौं हजार प्रतिहरू पनि जले होलान, तर संविधान जलेन।
आजको राजनीतिक यथार्थमा रवि लामिछानेदेखि बालेन्द्र शाहसम्मका नयाँ राजनीतिक पात्रहरू पनि यही संसदीय लोकतान्त्रिक प्रक्रियाबाट जनताको अनुमोदन खोज्नुपर्ने अवस्थामा छन्। यसले एउटा कुरा स्पष्ट पार्छ—व्यवस्थालाई गाली गरेर राजनीति गर्न सकिएला, तर शासन गर्न अन्ततः त्यही व्यवस्थाको वैधानिक संरचना स्वीकार गर्नुपर्छ।
मधेसी दलहरूका संविधान प्रतिको असंतुष्टिहरू जायज छन्। तर यदाकदा संविधानलाई नमान्ने अलमल पनि रवि र बालेनका जेन—जी आन्दोलन अघि र केही पछिको जस्तै छ—मधेस केन्द्रीत दलहरूको।
मुलुकलाई आन्दोलनले तताउन सक्छ, पुराना शक्तिलाई विस्थापित गर्न सक्छ, सत्ता परिवर्तन गर्न सक्छ; तर सत्ता सञ्चालनका लागि संविधान, संसद्, निर्वाचन, न्यायिक संस्था र संघीय संरचनाको विकल्प दिन सकिएन भने अन्ततः फर्किनुपर्ने ठाउँ यही हो।
बात बातमा सिंहदरबार झोस्छु भन्ने हालका प्रम अब सोही सिंहदरवारको पुनर्निर्माणका लागि बजेट चिन्तनमा लाग्नु परेको होला। यो बालेनको शक्ति होईन, संविधानको मान्यता हो।
त्यसैले जेन–जीले उठाएका प्रश्नलाई अस्वीकार गर्नु पनि गलत हुन्छ र त्यसको आक्रोशलाई व्यवस्थाविरुद्धको अन्तिम फैसला ठान्नु पनि। प्रश्न व्यवस्थाको अस्तित्वभन्दा बढी व्यवस्थालाई चलाउने राजनीतिक संस्कारको हो। अब यसको खोजी रवि—बालेनमा हुने नै छ।
यही ठाउँमा नरहरि आचार्यको विचार फेरि प्रासंगिक हुन्छ। जनताका प्रतिनिधि भएर सत्तामा पुगेपछि जनताको समस्यालाई बेवास्ता गर्ने र आफ्नो उद्देश्यविपरीत जाने दललाई जनताले निर्वाचनबाट हराउनु नै लोकतन्त्रको दण्ड हो भन्ने उहाँको भनाइ छ।
बीपी कोइरालाको पुरानो स्मरण जोड्दै उहाँले लोकतन्त्रमा जनताले सरकार बदल्न सक्ने, चुनाव हराउन सक्ने अधिकारलाई नै यसको विशिष्ट शक्ति मानेका छन्।
त्यसैले कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रश्न केवल ‘को सभापति हुने?’ भन्ने होइन। प्रश्न यो हो—कांग्रेस फेरि किन चाहिने पार्टी बन्ने? यहीं नेर नरहरि जीले गगन थापा र शेरबहादुर देउवाका बीच रेखा कोर्नु भएको छ। बिचारको, सोचको, बैधानिकताको—प्रासंगिकताको रेखा।
आचार्यले त्यसको एउटा उत्तर दिइसक्नु भएको छ—कांग्रेसले सत्ता फर्काउनेभन्दा आफ्नो प्रतिष्ठा फर्काउने प्रयत्न गर्नुपर्छ। नयाँ पुस्ताको उदय हुनुपर्छ। महाधिवेशन केवल पद बाँड्ने र मत गन्ने प्राविधिक अभ्यासमा सीमित हुनु हुँदैन; वैचारिक बहस हुनुपर्छ। कांग्रेसको मूल राजनीतिक चरित्र फेरि जनताको स्वतन्त्रता, लोकतन्त्र र सामाजिक समस्यासँग जोडिनुपर्छ।
कठोर सत्य यही हो—जनताले पुराना दललाई इतिहासका कारण सधैं माफी दिइरहँदैनन्। इतिहास गौरवको प्रमाण हुन सक्छ, वर्तमानको व्यवहारको छुटपत्र होइन।
कांग्रेसले गणतन्त्र ल्याउन भूमिका खेलेको थियो, संघीयतालाई स्वीकार गर्यो, संविधानसभाको मागलाई आफ्नै ऐतिहासिक मागका रूपमा अघि बढायो—यी उसका राजनीतिक सम्पत्ति हुन्। तर यिनै उपलब्धिको ब्याज खाएर मात्र अबको कांग्रेस चल्न सक्दैन। जनताले खोज्ने कुरा पुरानो योगदानको सम्मानसँगै वर्तमानको आचरण हो।
त्यसैले नरहरि आचार्यको पछिल्लो अभिव्यक्ति कांग्रेसका लागि एउटा असहज ऐना हो। त्यो ऐनामा कांग्रेसको गौरवशाली इतिहास पनि देखिन्छ, त्यस इतिहासबाट भएको विचलन पनि।
आन्दोलनको आदर्श पनि देखिन्छ, त्यसपछि आएको सत्ताकेन्द्रित व्यवहार पनि। र सबैभन्दा ठूलो कुरा—जनताले दिएको अधिकार जनताप्रति नै उत्तरदायी हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत सत्य पनि।
१५औँ महाधिवेशनले यदि यही कुरा मनन गर्न सकेन भने त्यो अर्को एउटा महाधिवेशन मात्र हुनेछ। तर यदि कांग्रेसले आफ्नो सैद्धान्तिक इतिहास र वर्तमान व्यवहारबीचको दूरीलाई इमानदारीपूर्वक स्वीकार गर्न सक्यो भने, नरहरि आचार्यले भनेझैं, यो महाधिवेशन कांग्रेसको प्रतिष्ठाको पुनर्जागरणको सुरुआत बन्न सक्छ।
आज कांग्रेसले अरूलाई प्रश्न गर्नेभन्दा पहिले आफूलाई एउटा प्रश्न सोध्नुपर्ने बेला हो, देउवा र गगन थापा दुबैलाई— जनताले हामीलाई किन छाडे? र त्यसको उत्तर अरू कसैले दिने होइन। कांग्रेसले आफैं दिनुपर्छ।
