भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा विश्व शान्ती पुजा,ऋषि पञ्चमीको तयारी पूरा
बौद्धनाथ चैत्यमा विशेष प्रार्थना
काठमाडौँ, २९ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा बौद्धनाथ चैत्य परिसरमा दीप प्रज्ज्वलनसहित विशेष प्रार्थना गरिएको छ ।
विभिन्न २१ सामाजिक तथा धार्मिक सङ्घसंस्थाको आयोजनामा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार र सकुशलताको कामनासहित तीन दिनसम्म प्रार्थना तथा दीप प्रज्ज्वलन कार्यक्रम आजदेखि सुरु गरिएको हो । कार्यक्रममा बौद्ध तथा हिन्दू धर्मगुरुसहित विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।
हिन्दू धर्मगुरु डा चिन्तामणि योगीले देशका विभिन्न स्थानमा देखिएको प्रकोपले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्नुभयो । यस्तो अवस्थामा नेपाली एकजुट भएर प्रभावित क्षेत्रका नागरिकलाई सहयोगको भावना राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बौद्ध धर्म गुरुको उपस्थिति थियो ।
ऋषि पञ्चमीको तयारी पूरा
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको सम्पूर्ण तयारी पूरा गरिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं १२ ले मन्दिर तथा त्यसआसपास क्षेत्रका सम्पदास्थलमा सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन तथा भीड व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो ।
ऋषि पञ्चमीका दिन लाग्ने मेलामा सहभागी हुन आउनेको सुरक्षाका लागि नेपाल प्रहरी, सामुदायिक प्रहरी र महानगरपालिकाका प्रहरीलाई जिम्मेवारी दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँग समन्वय गरी प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविर सञ्चालन गरिनेछ । सम्भावित भवितव्यका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै पनि भवितव्य तथा आपत्कालीन अवस्थामा उच्च सतर्कता अपनाएर एम्बुलेन्सको व्यवस्था तथा अशक्त र वृद्धवृद्धालाई सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको छ ।
वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरी तीजमा व्रत बसेका महिलाले मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजासमेत गराउने व्यवस्था मिलाएको छ ।
आज राति १२ः०० बजेदेखि नै दर्शनका लागि मन्दिर खुला गरिने भएकाले मेलालाई व्यवस्थित गर्न लाइन रहेको ठाउँमा स्वयंसेवकसहित सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ ।
मङ्गलबार टेकुदेखि कुलेश्वर र सानेपा निस्कने सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
