विमानस्थलमै दुर्गा प्रसाईँ र प्रहरीबीच घम्साघम्सी, समर्थक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच फेरि विवाद भएको छ। झापाबाट काठमाडौँ फर्किएका प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिन प्रहरीले रोक लगाएपछि विवाद चर्किएको हो।
प्रसाईँ आफ्ना सहयोगीसहित काठमाडौँ फर्किने क्रममा विमानस्थलमा उहाँको प्रतीक्षामा युट्युबर तथा सञ्चारकर्मीहरू जम्मा भएका थिए। तर विमानस्थल परिसरमा प्रतिक्रिया दिन रोक लगाएपछि प्रसाईँले प्रहरीको व्यवहारप्रति आक्रोश व्यक्त गर्नुभएको थियो।
त्यस क्रममा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गर्दै सरकारको आलोचना गर्नुभएको थियो। उहाँले प्रधानमन्त्री र गृहमन्त्रीप्रति आपत्तिजनक शब्दसमेत प्रयोग गर्दै संसद् भवन तथा सिंहदरबारमा आगजनी हुँदा प्रहरीको भूमिकामाथि प्रश्न उठाउनुभएको थियो।
प्रसाईँ र प्रहरीबीच भनाभन बढ्दै गएपछि केही समय विमानस्थल परिसरमा तनावको अवस्था सिर्जना भएको थियो। प्रहरीसँग भएको घम्साघम्सीका क्रममा दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
विमानस्थलजस्तो संवेदनशील सुरक्षा क्षेत्रमै राजनीतिक नाराबाजी र प्रहरीसँग विवाद दोहोरिएपछि घटनालाई सुरक्षा व्यवस्थापनको दृष्टिले समेत चासोका साथ हेरिएको छ।
