गृह सचिव शर्माद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण, सीमित स्रोतसाधनमै उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै प्रशंसा
काठमाडौं । गृह सचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निरीक्षण गर्दै संगठनको समग्र कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था र विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे विस्तृत जानकारी लिएका छन्।
निरीक्षणका क्रममा गृह सचिव शर्माले सशस्त्र प्रहरी बलले मुलुकको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा कानुन कार्यान्वयनका क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी लिँदै संगठनको वर्तमान अवस्था र चुनौतीका विषयमा छलफल गरेका थिए।
उनले सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरीले सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। नागरिकको सुरक्षा र राज्यप्रतिको भरोसा अभिवृद्धि गर्ने कार्यमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै शर्माले बदलिँदो सुरक्षा चुनौतीअनुसार संगठनलाई थप सक्षम, चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
गृह सचिव शर्माले नागरिकका अपेक्षालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न तथा जिम्मेवारी निर्वाह गर्दा थप सजग, सचेत, अनुशासित र इमानदार बन्न सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिएका छन्।
उनले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र कानुनको प्रभावकारी कार्यान्वयन गर्ने क्रममा नागरिकमैत्री व्यवहारलाई प्राथमिकता दिनुपर्ने बताए। साथै विपद्का बेला तत्काल परिचालन भई उद्धार तथा राहतमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक तयारीलाई निरन्तर मजबुत बनाउनसमेत निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूले संगठनको कार्यसम्पादन, सुरक्षा परिचालन, विपद् व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे गृह सचिव शर्मालाई जानकारी गराएका थिए।
