Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २९ सोमबार | रासस

 

भोजपुर, २९ भदौः बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन् ।

 

विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान नवराज फुँयालले बताउनुभयो । बाँदरबाट बचाउन बेसार सुरक्षित र आयआर्जनको भरपर्दो माध्यमका बन्दै गएको उहाँको भनाइ छ । 

 

“मकै, कोदा जस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,” उहाँले भन्नुभयो, “बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ । पछिल्लो समय बाँदरको समस्या रहेको ठाउँमा बेसार खेती गर्ने चलन बढ्न थालेको छ ।” बेसार खेतीबाट किसानले आम्दानी पनि राम्रो गरिरहेका छन् । भोजपुर नगरपालिका–५ की अर्की किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ । हाल स्थानीय बजारमा बेसार, पीठोप्रति कुरुवा रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको न्यौपानेले जानकारी दिनुभयो । 

 

उत्पादित बेसार बिक्रीका लागि बजारको कुनै समस्या नरहेकाले किसानहरू थप उत्साहित भएका हुन् । जङ्गल नजिकका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार्नै नपाई बाँदरले सखाप पार्ने समस्या वर्षौंदेखि रहँदै आएको थियो । स्थानीय किसान भीमप्रसाद न्यौपानेका अनुसार बाँदरको समूहले खेतबारी लगाएको अन्य अन्नपात नष्ट गर्ने भए पनि बेसार जमिन मुनि फल्ने तथा बाँदरले मन नपराउने कारण सुरक्षित बाली रहेको बताउनुभयो । बाँदर प्रभावित क्षेत्रका लागि बेसार वैकल्पिक खेती बन्न थालेको उहाँको भनाइ छ । 

 

कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने भएकाले पनि बेसार खेतीप्रति किसानको चासो बढेको छ । बाँदरको प्रकोप बढेसँगै बाझिन थालेका खेतबारीमा बेसार रोपेर पुनः हरियाली र आम्दानी बढाउन सकिने सम्भावना रहेको किसानले बताएका छन् । 

 

स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बेसारको उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसार राम्रो उत्पादन हुने किसानको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan