Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २४ बुधबार | रासस

 काभ्रेपलाञ्चोक, २४ भदौः काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन अभियानको सुरुआत गरेको छ । चिकित्सालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो । 

    चिकित्सालयले स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको एकपटक तिथि–मितिअनुसार पुष्य नक्षत्रको दिन पारेर आयोजना गरिने भएको हो । कार्यक्रम हुने दिन तथा समय सार्वजनिक सूचनामार्फत जानकारी गराइने चिकित्सालयका प्रमुख अर्जुन उपाध्यायले जानकारी दिनुभयो । 

    उहाँका अनुसार नियमित तथा चिकित्सकीय परामर्शअनुसार गरिने स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक र मानसिक विकासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । सो अभियानको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले मङ्गलबार उद्घाटन गर्नुभयो । 

    पाँच वर्षमुनिका बालबालिकालाई निर्धारित मितिमा ल्याई स्वर्णविन्दु प्राशन गराउन सक्ने उपाध्यायको भनाइ छ । अभियान सुरुआतको दिन मङ्गलबार करिब एक सय बालबालिकाको नाम सूचीकृत गरिएको छ । 

    खोटाङमा स्वर्णविन्दु प्राशन 

    खोटाङः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरेको  छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले जिल्लामा पहिलोपटक स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको हो । 

    सरकारले निर्धारण गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन मङ्गलबार जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । निर्धारित कार्यक्रमअनुसार जन्मिएर एक वर्ष पूरा भएका र पाँच वर्ष ननाघेका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने गरिएको छ । 

    दश स्थानीय तह रहेको जिल्लामा पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उद्घाटन कार्यक्रमका वक्ताले बताउनुभएको थियो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिक उद्घाटन गर्नुभएको कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अभिभावक तथा सरोकारवाला निकालयको सहभागिता थियो । 

    स्वर्णविन्दु प्राशन कार्यक्रमलाई सरकारले राष्ट्रिय कार्यक्रमका रूपमा सञ्चालन गर्न ‘बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका–२०८२’ जारी गरेको छ । स्वर्णविन्दु प्राशन कार्यक्रम बालबालिकाको स्वास्थ्य प्रवद्र्धन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु रहेको निर्देशिकामा उल्लेख छ । 

    आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य र रोगप्रतिरोधात्मक क्षमतासँग जोडेर स्वर्णविन्दु प्राशन गराउने गरिएको छ । सामान्यतया प्रशोधित स्वर्ण भस्म, गाईको घीउ÷ब्राह्मी घृत र महलगायतका सामग्रीबाट तयार गरिएको औषधीय मिश्रण थोपालाई स्वर्णविन्दु भन्ने गरिएको छ ।  

    सरकारले निर्धारण गरेको कार्यक्रमअन्तर्गत निश्चित उमेर समूहका बालबालिकालाई आयुर्वेद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा स्वर्णविन्दु प्राशन गराउने गरिन्छ । 

    जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने व्यवस्था भए पनि जिल्लामा एक वर्ष पूरा भई पाँच वर्ष ननाघेका बालबालिकालाई मासिक रूपमा व्यवस्था मिलाइएको जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डा सर्वेन्द्र यादवले जानकारी दिनुभयो ।  

    स्वर्णविन्दु प्राशनमा सहभागी तथा छुटेका बालबालिकालाई आगामी असोज १९ गते, कात्तिक १६ गते, मङ्सिर १३ गते, पुस ११ गते, माघ ९ गते, फागुन ८ गते र चैत ४ गते पुनः कार्यक्रम राखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । 

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा सचेतना बढाउने तथा जिल्लामा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो । 

    स्वर्णविन्दु प्राशन कार्यक्रमको प्रभावकारिता, प्रयोग हुने औषधिको संरचना, मात्रा र सेवनको अवधिका विषयमा भने आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरो, झाडापखाला, अजीर्ण, रुघाखोकी लगायतका स्वास्थ्य समस्या भएका बालबालिकालाई भने स्वर्णविन्दु प्राशन कार्यक्रममा सहभागी गराउन नहुने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan