Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जोखिमपूर्ण यात्रामा रहेका ४६४ को उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २२ सोमबार | रासस

राँझा (बाँके), २१ भदौः जोखिमपूर्ण यात्रामा रहेका ४६४ जनालाई बाँकेको नेपालगन्जस्थित जमुनाहानाकाबाट उद्धार गरिएको छ । 

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०८२÷८३ मा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेकालाई सीमानाकाबाट उद्धार गरेको हो । 

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार उद्धार गरिएकालाई आवश्यक परामर्शपश्चात् सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको हो । आर्थिक प्रलोभन, चेतनाको कमी, घरायसी समस्या र प्रविधिको असन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ्दो छ । 

“हामीले नाकामा कडाइ र भारतबाट उद्धारको प्रयास गरिरहेका छौँ, तर खोजतलासका लागि आउने निवेदनको चापले समुदायस्तरमै व्यापक सचेतना र सरकारी तहबाट रोजगार तथा सुरक्षाको ठोस नीति आवश्यक छ भन्ने देखाउँछ”, संयोजक कोइरालाले भन्नुभयो ।

खुला सीमा, विपन्नता र चेतनाको अभावका बीच गैरसरकारी संस्था र प्रहरी प्रशासनको निगरानीले धेरैको जीवन जोगिए पनि हराइरहेका सयौँ नागरिकको खोजी र पुनस्र्थापना अझै चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ ।

सीमानाकामा सतर्कताका बाबजुद विभिन्न प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र गलत सूचनाका कारण भारत पुर्याइएर श्रम तथा यौन शोषणमा परेका १० जनालाई सोही अवधिमा उद्धार गरी स्वदेश फर्काइएको छ । माइती नेपालले भारतीय प्रहरी, दूतावास र स्थानीय गैरसरकारी संस्थासँगको समन्वयमा भारतका विभिन्न सहर र कोठीबाट उनीहरूको उद्धार गरेको संयोजक कोइरालाले बताउनुभयो ।

हराएका आफन्तको खोजतलास र उद्धारका लागि माइती नेपाल नेपालगन्जको कार्यालयमा गत आर्थिक वर्षमा एक हजार १८ निवेदन परेकामा ५६८ जना फेलापरेका छन् । यस्तै, ४५० जनाको स्थिति अज्ञात रहेको कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन संस्थाले निरन्तर कानुनी सहायता प्रदान गर्दै आएको छ । गत वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धका तीन मुद्दामा पीडित र प्रभावितलाई माइती नेपालले प्रत्यक्ष कानुनी सहायता उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan