प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
काठमाडौँ, १४ साउन: प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । बैठकमा सांसद गुरूप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम गर्न सरकारले सहजकिरण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सांसद युवराज दुलालले गुठी जग्गाको संरक्षण र मोहियानी किसानका समस्याका बारेमा जानकारी गराउँदै सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विभिन्न सहरका केन्द्रमा महत्त्वपूर्ण स्थानमा भूमाफियाका आँखामा परेका जग्गाको संरक्षणमा लाग्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद आरेन राईले बाँदरले किसानको खेतीमा गरेको क्षतिका बारेमा जानकारी गराउँदै किसानले अन्य दु:ख र झमेलासँगै बाँदरको समस्या थपिएको बताउनुभयो । यसलाई समाधान गर्न सरकारले तत्काल प्रभावकारी काम गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।
सांसद भरत गिरीले सुनसरीको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो । साथै उहाँले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद प्रकाशचन्द्र परियारले सबै धर्म, पर्व र संस्कृतिप्रति आमनेपालीको साझा आस्था रहेको प्रसङ्ग उल्लेख गर्दै नेपालमा धर्म र संस्कृतिका नाममा कहिल्यै पनि युद्ध नभएको र हुने नदिइने बताउनुभयो ।
उहाँले सुरसरीलगायत क्षेत्रमा भएका पछिल्ला गतिविधिले चिन्तित तुल्याएको बताउँदै हल्लाका पछि नलाग्न आमजनतालाई आग्रह गर्नुका साथै घटनाका दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।
सांसद डा चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बीउ, र सिँचाइको व्यवस्था गर्न माग गर्दै चिकित्सकले सुरक्षित रूपमा पेसा गर्न नपाएको केही दिन अघिको अवस्थामा बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यसका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद साजिका खातुका सिद्धिकी र सरस्वती लामाले सुनसरी घटनामा गोली चलेकाबारेमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारका लागि सरकारसँग माग गर्नुभयो ।
सांसद श्रीराम न्यौपानेले नागढुङ्गा–सुरुङमार्ग निर्माणका क्रममा निधन हुनुभएका ओमप्रकाश पाण्डेप्रति श्रद्धाञ्जली र निर्माणका क्रममा घाइते हुनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले उक्त आयोजना राष्ट्रकै लागि गौरव भएको बताउनुभयो ।
सांसद प्रकाशसिंह कार्कीले सुनसरीकाजस्ता घटना आगामी दिनमा हुन नदिन सरोकारवालासँगै सरकार सचेत हुनुपर्ने बताउँदै सबै मिलेर समाजमा धार्मिक सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो ।
सांसद डा लेखजङ्ग थापाले वीरगञ्ज नारायण अञ्चल अस्पतालको घटनापछि सरकार र नेपाल चिकित्सक सङ्घपछि पाँचबुँदे सम्झौता भएर राम्रो काम भएको भन्दै वार्ताबाट समाधान समाधान खोज्नु नै महत्त्वपूर्ण भएको बताउनुभयो ।
