Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

चितवन, १४ साउनः नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ । गएको मङ्गलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो ।

    सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सडक विभागका भू-प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको छ । विज्ञ टोलीले अध्ययन गरिसकेकोपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ । “केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको सो ठाउँमा पहिलोपटक पहिरो झरेको हो । यो स्थान मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पर्दछ”, उहाँले भन्नुभयो ।

    यस ठाउँमा ४० मिटर अग्लो पहाड रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको ३० मिटरमाथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिनुभयो । करिब २० मिटरबाट खसेको पहिरो ३० मिटरमाथिसम्म पुगेको थियो । पहिरोले करिब २० मिटर लामो भाग पुरेको थियो ।

    घिमिरेका अनुसार सो ठाउँमा पुनःपहिरो खस्ने जोखिम छ । उहाँले त्यसको भूबनोटलगायत वरिपरिको संरचनाको अध्ययन गरी रोकथामको काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । गत वर्ष नगन्य रूपमा पहिरो झरेकामा यस वर्ष १० दिनअघिदेखि सामान्य हुँदै मङ्गलबार एकाएक ठूलो पहिरो झरेको थियो ।

    “यस ठाउँलाई पहिरोको जोखिम रहेका ठाउँमा सडक कार्यालयले राखेको थिएन । वर्षात सुरु भएसँगै पहिरो खस्न सुरु गरेपछि दुःख दिन सक्ने भएकाले रोकथामका लागि तत्काल विषय विज्ञलाई बोलाइएको छ”, इन्जिनियर घिमिरेले भन्नुभयो । यसै सडकका अन्य सात ठाउँमा उच्च जोखिम रहेको जनाउँदै करिब ४३ ठाउँमा जोखिम रहेको उहाँले बताउनुभयो । 

    पहिरो खस्नासाथ पन्छाउनका लागि कार्यालयले मुग्लिन र सेती दोभानमा उपकरण राखेको छ । तुइन खोलाको पहिरो नियन्त्रणका लागि बोलपत्र स्वीकारेको निर्माण कम्पनीले उपकरण राखेकाले अन्य ठाउँमा खसेका पहिरो तत्काल पन्छाउनुपर्दा सहयोग लिन सकिने इन्जिनियर घिमिरेले बताउनुभयो ।

    घिमिरेका अनुसार मङ्गलबार खहरे खोलाको पहिरो पन्छाउन तुईन खोलाबाट समेत उपकरण लगिएको थियो । यो सडक हुँदै काठमाडौँ, पोखरालगायत क्षेत्रमा आवतजावत गरिन्छ । थोरै समय सडक बन्द हुँदासमेत धेरै यात्रुले दुःख पाउने भएकाले पहिरो रोकथामको कामलाई कार्यालयले प्राथमिकता दिँदै आएको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan