वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, १४ साउन : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने तेह्रथुम घर भएका ४३ वर्षीय लाक्पा शेर्पा र काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पूर्व घर भएकी ३९ वर्षीया कालिका रोक्का रहेका छन् ।
पक्राउ मध्ये लाक्पाले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ र कालिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
