अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौं, १३ मंसिर : काठमाडौं महानगरपालिका-१७ ठमेल जिपि रोडस्थित होटलबाट अवैध लागूऔषध कोकिन ३ किलोग्राम सहित कोरियाली नागरिक ८७ वर्षीय Suk Chon Lee लाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै उक्त लागूऔषध रिसिभ गरी लैजान लागेका भारतीय नागरिक २८ वर्षीय Dipak Uttam Waghmare लाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित काठमाडौं कोटेश्वर डेरा गरी बस्ने धादिङ धुनिबेसी नगरपालिका-८ घर भएका २७ वर्षीय रक्की अधिकारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा रक्कीको कोठा तलासी गर्दा अवैध लागूऔषध गाँजा ७ किलो ३ सय २० ग्राम र पोलेन करिब १ सय ग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोरखपुर घर भएका २८ वर्षीय सचिन दुबे, गुल्मी घर भएका २७ वर्षीय रामु सार्की र बागलुङ बरेङ गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्देश सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ४० वर्षीय योगेन्द्र साउद समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-३ मिरमिरे टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २९ ट्याब्लेट, स्पास्पेन २ सय २८ ट्याब्लेट र नगद ९ हजार ६ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय विबेक सिलवाल र ३६ वर्षीय सागर शंकर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१० पिपिरा बस्ने २० वर्षीय सलिम बक्सलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०१-००२ ज ०८५९ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम ४ सय ८० मिलिग्राम, नगद १३ लाख ३९ हजार रूपैयाँ र तराजु १ थान सहित मेचीनगर नगरपालिका-१५ घर भएकी ३६ वर्षीया पार्वता राजवंशीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, रामधुनी नगरपालिका-५ झुम्का बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इनरूवा नगरपालिका-३ बस्ने ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका-१० लभडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित झापा गाउँपालिका-३ घर भएका ३४ वर्षीय यम बहादुर बुढाथोकीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.१-०१-००१ च ८५९८ नम्बरको बोलेरो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक यम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
