Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बयानको पटकथा कि न्यायको अनुसन्धान ? सत्ताको आडमा राजनीतिक प्रतिशोधको खतरनाक खेल !

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
newsabhiyan

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग, अनुसन्धानका नाममा कसैलाई फसाउने षड्यन्त्र स्वीकार्य हुँदैन : भीष्मराज आङ्देम्बे

काठमाडौं, १३ मंसिर । लोकतन्त्रमा सरकार चलाउने अधिकार प्राप्त हुँदैमा राज्यका सम्पूर्ण संयन्त्रलाई आफ्नो राजनीतिक स्वार्थअनुकूल परिचालन गर्ने छुट कसैलाई हुँदैन।

सत्ता जनताको मतबाट प्राप्त हुने अस्थायी जिम्मेवारी हो, कुनै व्यक्ति, दल वा समूहको निजी सम्पत्ति होइन। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत अन्य राजनीतिक व्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षकै योजनामा बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिलाई दबाब र धम्की दिएर आफूअनुकूल कागज पढ्न बाध्य बनाउने तथा नमाने फसाइदिने चेतावनी दिने काम भइरहेको हो भने यो केवल एउटा व्यक्तिमाथिको ज्यादती होइन, लोकतान्त्रिक राज्य व्यवस्थाकै अनुहारमा प्रहार हो।

हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका आरोपहरू सामान्य प्रकृतिका छैनन्।

हिरासतमा रहेको व्यक्तिको मोबाइल फोन अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएर दुरुपयोग गरेको, तयार पारिएको कागज पढ्न दबाब दिएको र अस्वीकार गरेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको भन्ने विषयले राज्यका अनुसन्धानकारी निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यी आरोप सत्य हुन् भने त्यसको जवाफदेहिता कसले लिने ? अनुसन्धानको नाममा कसैलाई मानसिक दबाब दिने, इच्छाविपरीत बयान गराउने र राजनीतिक नेतृत्वलाई जोडेर कथित अपराधको कथा बुन्ने अधिकार कसलाई छ ?

अनुसन्धान कि राजनीतिक प्रतिशोधको पटकथा ?
कानुनको शासनमा अनुसन्धान प्रमाणका आधारमा हुन्छ, सत्ताको आदेश र राजनीतिक पूर्वाग्रहका आधारमा होइन।

अपराध प्रमाणित गर्ने काम अदालतको हो, अनुसन्धानका नाममा कसैलाई दोषी करार गर्ने वा कसैको राजनीतिक भविष्य समाप्त पार्ने काम कुनै प्रहरी अधिकारी, कर्मचारी वा सत्तासीन राजनीतिक समूहको होइन।

बयान स्वेच्छिक हुनुपर्छ, जबर्जस्ती थोपरिएको कथन होइन। प्रमाण संकलन निष्पक्ष हुनुपर्छ, राजनीतिक निर्देशनअनुसार तयार पारिएको दस्तावेज होइन।

यदि इनम सापकोटा प्रकरणमा उठेका आरोपमा सत्यता छ भने यसको अर्थ राज्यका अनुसन्धानकारी निकायभित्रै गम्भीर विचलन मौलाएको छ भन्ने हो।

अनुसन्धान गर्ने निकाय नै कसैलाई फसाउने योजनाको हिस्सा बनेको आशंका उत्पन्न हुनु लोकतन्त्रका लागि अत्यन्त खतरनाक अवस्था हो। आज एउटा राजनीतिक दलका नेतामाथि यस्तो अभ्यास हुन सक्छ भने भोलि फरक विचार राख्ने जुनसुकै नागरिक यसको सिकार बन्न सक्छ।

प्रधानमन्त्री र सरकारको मौनता यस प्रकरणमा थप शंकाको विषय बन्नु हुँदैन। सरकारको जिम्मेवारी प्रश्न दबाउने होइन, प्रश्नको जवाफ दिने हो।

प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ– सरकार निष्पक्ष अनुसन्धानको पक्षमा छ कि अनुसन्धानका नाममा राजनीतिक प्रतिशोधको नयाँ अध्याय लेखिँदै छ ? राज्यका निकाय कसको निर्देशनमा चलिरहेका छन् ?

हिरासतमा रहेका व्यक्तिको गोपनीयता, व्यक्तिगत अधिकार र कानुनी सुरक्षाको प्रत्याभूति कसले गर्ने ? सत्ता परिवर्तन हुन्छ, तर संस्थाको विश्वसनीयता भत्किए देशले मूल्य चुकाउनुपर्छ।

नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनका लागि दशकौँदेखि संघर्ष गर्दै आएको राजनीतिक शक्ति हो।

त्यसैले इनम सापकोटा प्रकरणमा उठेका प्रश्नलाई सामान्य राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाएर पन्छाउन मिल्दैन। यो कुनै व्यक्ति वा दलको पक्ष–विपक्षको प्रश्न मात्र होइन, राज्यको निष्पक्षता र नागरिकको न्याय पाउने अधिकारसँग जोडिएको विषय हो।

यसर्थ, प्रकरणमा उठेका सम्पूर्ण आरोप र घटनाक्रमको सत्यतथ्य सार्वजनिक गर्न तत्काल संसदीय छानबिन समिति गठन गरिनुपर्छ। राष्ट्रिय मानवअधिकार आयोगले निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्छ।

हिरासतमा रहेका व्यक्तिको सुरक्षा, कानुनी अधिकार र स्वतन्त्र बयानको सुनिश्चितता गरिनुपर्छ। यदि कसैले पद, पहुँच र राजनीतिक शक्तिको आडमा कानुनको दुरुपयोग गरेको प्रमाणित हुन्छ भने ऊ जुनसुकै ओहोदामा किन नहोस्, कानुनको कठघरामा उभ्याइनुपर्छ।

लोकतन्त्रको सुन्दरता सत्तापक्षले जे भन्यो त्यही मान्नुमा होइन, सत्तालाई पनि प्रश्न गर्न पाउने नागरिक अधिकारमा निहित हुन्छ। फरक विचार राख्नेलाई अपराधी बनाउने पटकथा लेखेर लोकतन्त्र बलियो हुँदैन। प्रतिशोधको राजनीति गरेर सुशासन स्थापित हुँदैन। राज्यसत्ता कसैको निजी रिसइबी साँध्ने हतियार पनि होइन।

सरकारले बुझ्नुपर्छ– कुर्सीको शक्ति क्षणिक हुन्छ, तर संविधानको शक्ति स्थायी हुन्छ। राजनीतिक प्रतिशोधको जगमा उभिएको सत्ता इतिहासमा टिक्दैन। न्यायलाई बन्धक बनाएर शासन चलाउने सपना देख्नु लोकतन्त्रकै अपमान हो। सरकार व्यक्ति विशेषको सनकमा होइन, संविधान, कानुन र जनताको विश्वासमा चल्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan