सार्वजनिक यातायातमा चोर–पाकेटमाराको आतंकविरुद्ध प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन, एकैदिन १२१ पक्राउ
काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा अन्य सामान चोरी गर्ने, पाकेट मार्ने, लुटपाट गर्ने र महिलामाथि दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यकामा यात्रुको सुरक्षालाई लक्षित गर्दै प्रहरीले एकैदिन १२१ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार बिहान ५ बजेदेखि सञ्चालन गरेको ‘सुरक्षित यात्रा’ नामक विशेष अप्रेसनका क्रममा एक महिलासहित १२१ जना पक्राउ परेका हुन्। सार्वजनिक यातायातलाई चोरी, पाकेटमारी, लुटपाट र महिला दुर्व्यवहारजस्ता आपराधिक गतिविधिबाट मुक्त बनाउने उद्देश्यले प्रहरीले उपत्यकाका विभिन्न संवेदनशील क्षेत्रलाई केन्द्रित गरी एकैसाथ अप्रेसन चलाएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई लक्षित गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएका हुन्। विशेषगरी यात्रुको भीडभाड हुने बसपार्क, बस बिसौनी, चोक तथा यातायातका मुख्य रुटलाई केन्द्रमा राखेर प्रहरी परिचालन गरिएको थियो।
अभियानका क्रममा काठमाडौं जिल्लाका विभिन्न १३ स्थानबाट १०१ जना पक्राउ परेका छन्। बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धाराबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
त्यसैगरी ललितपुरका सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोकबाट ११ जना पुरुष पक्राउ परेका छन्। भक्तपुरका ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारी क्षेत्रबाट थप एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले सार्वजनिक यातायातमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार यात्रुको धनमाल चोरी गर्ने, पाकेट मार्ने, लुटपाट गर्ने तथा महिलामाथि हुने दुर्व्यवहारका घटनालाई निरुत्साहित गर्न प्रहरी सक्रिय भएको हो।
सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरू विशेषगरी भीडभाडको समयमा पाकेटमारी, मोबाइल तथा नगद चोरी र दुर्व्यवहारको जोखिममा पर्ने गरेका छन्। यस्ता घटनाले यात्रुको व्यक्तिगत सुरक्षामात्र नभई सार्वजनिक यातायातप्रतिको विश्वाससमेत कमजोर बनाउने गरेको छ।
प्रहरीले ‘सुरक्षित यात्रा’ अभियानलाई एकदिने औपचारिकतामा सीमित नराखी प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्ने जनाएको छ। सार्वजनिक यातायात तथा यात्रुहरूको भीडभाड हुने क्षेत्रमा निगरानी बढाउँदै यस्ता कसूरमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याइने एसपी कार्कीले बताए।
प्रहरीले सार्वजनिक यातायातमा यात्रा गर्दा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ। यात्रुको सक्रिय सूचना र सहयोगबाट चोरी, पाकेटमारी, लुटपाट तथा महिला दुर्व्यवहार नियन्त्रण गर्न अभियान थप प्रभावकारी हुने प्रहरीको विश्वास छ।
सार्वजनिक यातायातमा सुरक्षित यात्रा नागरिकको अधिकार भएकाले यात्रु स्वयं पनि सचेत रहनुपर्ने र अपराध नियन्त्रणमा प्रहरी तथा नागरिकबीच सहकार्य आवश्यक रहेको प्रहरीले जनाएको छ।
