Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेस स्वतन्त्रताको माग गर्दै घण्टीघरअगाडि पत्रकार महासङ्घको धर्ना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
newsabhiyan

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दोस्रो चरणको आन्दोलन, राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम

काठमाडौं, १३ मंसिर ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति, पत्रकारको पेसागत सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घण्टीघरअगाडि धर्ना दिएको छ।

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढेको र सरकार सञ्चार क्षेत्रका समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाउँदै महासङ्घ दोस्रो चरणको आन्दोलनमा उत्रिएको हो।

महासङ्घले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममाथि अवरोध र हस्तक्षेप गर्ने व्यक्तिमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएको छ।

त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, सञ्चार संस्थामा श्रम अधिकारको उल्लङ्घन भइरहेको र पत्रकारको पेसागत सुरक्षामाथि चुनौती थपिएको महासङ्घको भनाइ छ।

लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको भन्दै महासङ्घले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

महासङ्घका अनुसार प्रेस स्वतन्त्रता केवल पत्रकारको पेसागत सुविधा र अधिकारको विषय मात्र नभई लोकतन्त्र, नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष जोडिएको विषय हो। सञ्चारमाध्यमलाई दबाब, प्रभाव र नियन्त्रणमा राख्ने कुनै पनि प्रयास स्वीकार्य नहुने महासङ्घको अडान छ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत महासङ्घले मंसिर १३ देखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।

जसअनुसार मंसिर १३ गते रास्वपा, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा धर्ना दिने कार्यक्रम छ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान, पत्रकारमाथि भएका हस्तक्षेपको निष्पक्ष छानबिन, श्रम अधिकारको कार्यान्वयन र पत्रकारको पेसागत सुरक्षाको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने जनाएको छ।

लोकतन्त्रको पहरेदार मानिने प्रेसमाथि नै नियन्त्रण र हस्तक्षेपको अवस्था सिर्जना हुनु लोकतान्त्रिक व्यवस्थाकै लागि गम्भीर चुनौती भएको महासङ्घको ठहर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan