Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हसिनाको अवामी लिगद्वारा दुई दिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस/एएनआई)
newsabhiyan

ढाका, १३ मङ्सिर : शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ ।

बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् ।

सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ ।

बीजीबीका अनुसार फरिदपुरको नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो । अवरोध हटाई सवारी आवागमन सञ्चालन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी लिगको प्रभाव क्षेत्र हो । देशका अन्य भागमा पार्टीका कार्यक्रमको प्रभाव कम देखिए पनि त्यहाँ समर्थकहरूले विभिन्न गतिविधि गर्दै प्रदर्शन गरिरहेका छन् ।

हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गर्नुभएको छ । तर, मृत्युदण्डको सजाय पाइसकेकी उहाँलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ ।

ढाकाले सुपुर्दगी सन्धिअन्तर्गत उहाँलाई फिर्ता पठाउन भारतसँग औपचारिक अनुरोध गरेको छ । भारतले भने सुपुर्दगी र यात्रा कागजातसहित स्वदेश फर्किने विषय फरक रहेको जनाएको छ ।

हसिनाको घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव र सुरक्षा चिन्ता बढाएको छ । सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट सरकार ढलेपछि उहाँ भारत जानुभएको थियो । सन् २०२६ फेब्रुअरी १२ मा भएको निर्वाचनबाट बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan