Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मानव अधिकार आयोगमा दिएको निवेदनले को-को नाङ्गिए ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
newsabhiyan

काठमाडौं, १३ मंसिर । बिचौलियाको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणले वर्तमान सरकारको अधिनायकवादी चरित्र, राज्यसंयन्त्रको चरम दुरुपयोग र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसविरुद्ध रचिएको गम्भीर राजनीतिक षड्यन्त्रलाई सतहमा ल्याइदिएको छ ।

सापकोटाले आफूलाई पक्राउ गरेपछि आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा लगिएको र कांग्रेस सभापति गगन थापासहित शीर्ष नेता, व्यवसायी तथा न्यायाधीशविरुद्ध बयान दिन चरम यातना र धम्की दिइएको खुलासा गर्दै अस्ति शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा पाँच पृष्ठ लामो निवेदन दर्ता गराएपछि सरकारको नियत घामजस्तै छर्लंग भएको हो ।

सरकारले अनेक हतकण्डा अपनाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति थापामाथि दबाब बढाउने खोजे पनि सभापति थापाले आफ्ना हात सफा रहेको र पक्राउ नै गर्नु छ भने हतकडी लिएर आउन खुला चुनौती नै दिएका थिए।

सरकार गठन भएको आठ महिना पुग्दासमेत जनताको पक्षमा सिन्को भाँच्न नसकेपछि सरकारविरुद्ध नै आमनागरिकहरूले निराशा पोख्न थालेपछि तल्लोस्तरका हतकण्डा प्रयोग गर्न थालेको कांग्रेसका एक पदाधिकारीले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगमा दिइएको निवेदनमा उल्लेख गरेका तथ्यहरूले निष्पक्ष अनुसन्धानको आवरणमा झन्डै दुई तिहाइको सरकारले नै नागरिकको मौलिक हक र कानुनी शासनको धज्जी उडाउँदै राजनीतिक प्रतिशोध साध्ने अपराधको डिजाइन गरिरहेको गम्भीर खुलासा गरेकी राजनीतिक विश्लेषकहरू बताउँछन् ।

बालेन नेतृत्वको सरकारले एउटा व्यक्तिलाई मोहरा बनाएर प्रमुख प्रतिपक्षी दलको राजनीतिक शक्ति कमजोर पार्ने र विरोधीहरूलाई झटा मुद्दामा फसाउने खतरनाक खेल खेलिरहेको आरोप राजनीतिक वृत्तमा चुलिएको छ ।

सापकोटाले आयोगमा बुझाएको निवेदनअनुसार प्रहरीले आफैले लेखेको स्क्रिप्ट पढ्न लगाएर त्यसको अडियो रेकर्ड गरी काटछाँट गरेर सार्वजनिक गरेको र नमानेमा परिवारकै जिउज्यान नै खतरामा पारिदिने तथा लामो समय जेलमा सडाउने धम्की दिएको उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, कांग्रेस सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, व्यवसायी मीनबहादुर गुरुङ, नवीन तुलाधर र सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरूसमेतको नाम मुछेर बयान दिन दबाब दिनुले सरकार राज्यसंयन्त्रलाई न्याय र विधिको शासनको सट्टा विपक्षी मात्रै होइन, लोकतन्त्रको धरोहरको रूपमा रहेको स्वतन्त्र न्यायापालिकालाई पनि सिध्याउने हतियार बनाउन उद्यत रहेको प्रस्ट पारेको छ ।

सापकोटा पक्राउ परेपछि उनको मोबाइल फोन डिजिटल फरेन्सिक ल्याबमा पठाउनुको साटो दुई दिनसम्म प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवास ललितपुर ज्वागलमा राखिएको सार्वजनिक भएको थियो ।

प्रमाणको सुरक्षामा प्रहरीले गरेको अक्षम्य लापरवाही र मोबाइलमा छेडखानी गरी झूटा प्रमाण सिर्जना गरिएको सापकोटाको आरोपले प्रहरी संगठन स्वयं सत्ताको राजनीतिक गोटी बनेको पुष्टि पनि भएको छ ।

अनुसन्धानका गोप्य सामग्री बाहिर चुहाएर नियोजित रूपमा 'मिडिया ट्रायल' गराउने र व्यक्ति तथा संस्थाको चरित्रहत्या गर्ने सरकारी रवैयाले लोकतान्त्रिक मूल्यमान्यतामाथि नै ठाडो प्रहार गरेको कानुनविद् तथा मानवअधिकारवादीहरूको ठहर छ ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालि घटनाको गम्भीरतामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ मागेका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत आयोगमा परेको उजुरी झुटो हो कि राज्यकै आडमा एकपछि अर्को अपराधका डिजाइन बनिरहेका छन् भन्दै सरकारको पारदर्शितामाथि कडा प्रहार गरेका छन् ।

इनम प्रकरणलाई 'सस्पेन्स थ्रिलर फिल्म'जस्तो रहस्यमय बनाएर राजनीतिक लाभ लिन खोजिएको भन्दै उनले घटनाका सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउन संसद्ले नै अग्रसरता लिएर निष्पक्ष र उच्चस्तरीय छानबिन गर्नुपर्ने माग अघि सारेका खबर देशान्तरमा उल्लेख छ ।

उता, उजुरीको गम्भीरतालाई मध्यनजर गर्दै राष्ट्रिय मानवअधिकार आयोगले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा पुगेर सापकोटाको अवस्थाको प्रत्यक्ष स्थलगत निरीक्षण गर्ने र सम्बन्धित सरकारी तथा सुरक्षा अधिकारीहरूसँग औपचारिक सोधपुछ गर्ने निर्णय गरेको छ ।

संवैधानिक निकायको यो सक्रियतासँगै सत्ताको आडमा रचिएको भनिएको यस षड्यन्त्रको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ । राज्यसंयन्त्रको दुरुपयोग गरी प्रतिपक्षीमाथि हमला गर्ने सरकारी हर्कतले अन्ततः सरकारलाई नै नैतिक र राजनीतिक रूपमा नांगो बनाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan