जेन्जी आन्दोलनअघिको राजनीतिक चिन्तन : लोकतन्त्रको आवरणमा सीमित व्यक्तिको रजगज, जनताको नाममा शक्तिकेन्द्रको साम्राज्य !
बूढानीलकण्ठ, बालकोट र खुमलटारका ढोका कसका लागि खुल्थे ? इमानदार नेता, कार्यकर्ता र आमनागरिक किन पहुँचविहीन थिए ? गुण्डा, तस्कर, दलाल र ठेकेदारको राजनीतिक पहुँचबारे उठेका प्रश्नको जवाफ नखोजी लोकतन्त्रको दुहाइ दिनुको अर्थ के ?
काठमाडौं, १३ मंसिर । जेन्जी आन्दोलन हुनुअघिको नेपालको राजनीतिक अवस्था, राजनीतिक दलहरूको कार्यशैली, नेतृत्वको व्यवहार र राज्य सञ्चालनको प्रवृत्तिलाई फर्केर हेर्दा एउटा गम्भीर प्रश्न उब्जिन्छ– नेपालमा लोकतन्त्र साँच्चिकै जनताका लागि थियो कि लोकतन्त्रको नाममा सीमित व्यक्तिहरूले आफ्नो राजनीतिक, आर्थिक र सामाजिक साम्राज्य विस्तार गर्ने माध्यम बनाएका थिए ?
लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र र जनताको अधिकारका चर्का भाषण गर्ने राजनीतिक नेतृत्वको व्यवहारमा कति लोकतान्त्रिक संस्कार थियो ? जनताले चुनेका प्रतिनिधि जनताकै बीचमा थिए कि निश्चित स्वार्थ समूहको घेराभित्र सीमित थिए ?
राजनीतिक दलका शीर्ष नेताहरूको निवासमा पुग्ने अवसर कसले पाउँथ्यो ? वर्षौँ पार्टीका लागि संघर्ष गरेका इमानदार कार्यकर्ता र सामान्य नागरिकले किन सहजै आफ्ना कुरा राख्न पाउँदैनथे ? तर आर्थिक प्रभाव, राजनीतिक पहुँच र स्वार्थको सम्बन्ध भएका व्यक्तिहरू कसरी सीधै नेतृत्वको नजिक पुग्थे ?
यी प्रश्न कुनै एक पार्टी, एक नेता वा एउटा राजनीतिक समूहसँग मात्र सम्बन्धित छैनन्। यो नेपालको लामो राजनीतिक अभ्यास, नेतृत्वको चरित्र र संस्थागत विकृतिसँग जोडिएको विषय हो।
जेन्जी आन्दोलनलाई बुझ्न आन्दोलनपछिको राजनीतिक घटनाक्रम मात्रै हेरेर पुग्दैन। आन्दोलन हुनुअघिको राजनीतिक वातावरण, जनतामा बढ्दै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास र राज्यप्रति कमजोर हुँदै गएको भरोसाको पनि विश्लेषण गर्नुपर्छ। किनकि कुनै पनि ठूलो राजनीतिक असन्तुष्टि एकै दिन जन्मिँदैन। त्यसको पछाडि वर्षौँदेखि थुप्रिएका निराशा, उपेक्षा, विभेद र असन्तुष्टिका तहहरू हुन्छन्।
बूढानीलकण्ठ, बालकोट र खुमलटार : जनताको घर कि शक्तिकेन्द्र ?
नेपालको राजनीतिमा बूढानीलकण्ठ, बालकोट र खुमलटार केवल नेताहरूका निवासका नाम मात्र रहेनन्। ती राजनीतिक निर्णय, भेटघाट, परामर्श र शक्ति समीकरणका प्रतीकसमेत बने। पार्टीका औपचारिक बैठक र संस्थागत निर्णय प्रक्रियाभन्दा शीर्ष नेताको निजी निवासमा हुने भेटघाट र छलफलले बढी महत्त्व पाउने राजनीतिक संस्कारमाथि पटकपटक प्रश्न उठ्यो।
कुनै नेताको घरमा पुगेर कसले के माग्यो ? कसले कुन नियुक्तिका लागि सिफारिस गर्योत ? कसले ठेक्कापट्टा, सरुवा, बढुवा वा राजनीतिक अवसरका लागि पहुँच प्रयोग गर्योय ? कसले आफ्नो आर्थिक तथा व्यावसायिक स्वार्थलाई राजनीतिक संरक्षणसँग जोड्न खोज्यो ? यस्ता विषयमा सार्वजनिक वृत्तमा विभिन्न समयमा प्रश्न र आलोचना उठ्दै आएका छन्।
तर त्यही नेतृत्वलाई भेट्न पार्टीका लागि जीवन समर्पण गरेका सामान्य कार्यकर्ताले समय पाउन मुस्किल हुने अवस्था थियो भन्ने गुनासो पनि कम थिएन।
वर्षौँदेखि संगठन निर्माणमा खटिएका कार्यकर्ता, गाउँबाट समस्या बोकेर आएका नागरिक, अन्यायमा परेका सर्वसाधारण र पार्टीको विचार बोकेर हिँड्ने इमानदार व्यक्तिहरूले नेतृत्वसँग भेट्न अनेक प्रयास गर्नुपर्ने अवस्था किन आयो ? नेताको वरिपरि रहने सीमित व्यक्तिहरूले नै भेटघाट र पहुँचको ढोका नियन्त्रण गर्ने अवस्था कसरी बन्यो ?
लोकतन्त्रमा जनताको प्रतिनिधि जनताबाट टाढा हुन मिल्दैन। तर जब जनताको प्रतिनिधि र जनताबीच बिचौलियाको पर्खाल खडा हुन्छ, त्यतिबेला लोकतन्त्रको वास्तविक अभ्यासमाथि प्रश्न उठ्छ।
राजनीतिक नेतृत्वको निवास निजी सम्पत्ति हुन सक्छ, तर सार्वजनिक पदमा पुगेपछि त्यस व्यक्तिको राजनीतिक जिम्मेवारी निजी स्वार्थभन्दा माथि हुन्छ। जनताको आवाज सुन्ने व्यवस्था कुनै व्यक्तिको इच्छा र कृपामा निर्भर हुनु हुँदैन।
गुण्डा, तस्कर, दलाल र ठेकेदारको पहुँचबारे प्रश्न किन उठे ?
राजनीतिमा सबैभन्दा गम्भीर विकृति त्यतिबेला देखिन्छ, जब विचार, सिद्धान्त, संगठनात्मक योगदान र जनताको सेवाभन्दा पैसा, पहुँच र प्रभावलाई बढी महत्त्व दिन थालिन्छ।
गुण्डागर्दी, तस्करी, दलाली र अनियमित आर्थिक गतिविधिसँग जोडिएका व्यक्तिहरू राजनीतिक नेतृत्वको नजिक पुगेर प्रभाव विस्तार गर्न खोजेको आरोप विभिन्न समयमा सार्वजनिक रूपमा उठ्दै आएका छन्। यस्ता आरोपको सत्यता सम्बन्धित निकायको निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ। तर प्रश्न उठ्नुको कारण बुझ्न आवश्यक छ।
राजनीतिक संरक्षण प्राप्त गरेपछि कानुनबाट उन्मुक्ति पाइन्छ भन्ने मनोविज्ञान विकास भयो भने राज्य कमजोर हुन्छ। आर्थिक प्रभावका आधारमा राजनीतिक निर्णय प्रभावित गर्न सकिन्छ भन्ने धारणा बलियो भयो भने इमानदार नागरिक निरुत्साहित हुन्छन्।
ठेकेदार हुनु अपराध होइन। व्यवसायी हुनु अपराध होइन। राजनीतिक नेतासँग भेटघाट गर्नु पनि अपराध होइन। तर सार्वजनिक ठेक्कामा मिलेमतो, राज्यको स्रोतमा अनुचित लाभ, राजनीतिक संरक्षणमा गैरकानुनी गतिविधि र प्रशासनिक निर्णयमा स्वार्थको हस्तक्षेप हुन्छ भने त्यो गम्भीर विषय हो।
राजनीतिक नेतृत्वले यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न नसक्दा राजनीति सेवा गर्ने क्षेत्रभन्दा स्वार्थ पूरा गर्ने माध्यमका रूपमा बुझिन थाल्छ।
अझ दुःखद अवस्था त त्यतिबेला उत्पन्न हुन्छ, जब राजनीतिक दलभित्रै आर्थिक प्रभाव भएका व्यक्तिहरूको हैसियत बढ्दै जान्छ र सिद्धान्त, विचार तथा संगठनका लागि संघर्ष गरेका व्यक्तिहरू क्रमशः पाखा लाग्दै जान्छन्।
इमानदार नेता र कार्यकर्ताको योगदानको मूल्य कहाँ हरायो ?
नेपालका राजनीतिक दलहरूको इतिहास आन्दोलन, संघर्ष, त्याग र बलिदानले भरिएको छ। राजनीतिक परिवर्तनका लागि हजारौँ कार्यकर्ताले जेलनेल भोगे। कतिपयले परिवार, पेसा र व्यक्तिगत जीवन त्यागेर संगठन निर्माणमा समय खर्चिए। गाउँगाउँमा पार्टीको विचार पुर्यादए। राजनीतिक संकटमा नेतृत्वको पक्षमा उभिए। तर अवसर बाँड्ने समय आउँदा उनीहरूको योगदानको मूल्यांकन कसरी भयो ?
पार्टीमा वर्षौँ काम गरेको कार्यकर्ता नेतृत्वसँग भेट्नसमेत संघर्ष गर्नुपर्ने, तर आर्थिक तथा राजनीतिक प्रभाव भएका व्यक्तिहरू सहजै शीर्ष तहमा पुग्ने अवस्था सिर्जना भएको गुनासो किन आयो ?
पार्टीको सिद्धान्तअनुसार चल्ने व्यक्तिभन्दा नेताको व्यक्तिगत प्रशंसा गर्ने व्यक्तिले अवसर पाउने अवस्था किन देखियो ? यो प्रश्नले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रको वास्तविक अवस्था उजागर गर्छ।
पार्टीभित्र नेतृत्वको आलोचना गर्ने, गलत निर्णयको विरोध गर्ने र जनताको समस्या उठाउने कार्यकर्तालाई असहयोगी ठान्ने प्रवृत्ति विकसित भयो भने संगठनभित्र विचारको बहस समाप्त हुन्छ। त्यसपछि पार्टी विचारको साझा मञ्च नभएर व्यक्तिको प्रभाव र गुटको व्यवस्थापन गर्ने संरचनामा सीमित हुन सक्छ।
राजनीतिक दलको शक्ति कार्यकर्ताको संख्या मात्रै होइन, उनीहरूको विश्वास, योगदान र नेतृत्वप्रतिको भरोसा हो। त्यो भरोसा कमजोर हुँदा संगठन बाहिरबाट ठूलो देखिए पनि भित्रभित्रै कमजोर हुन सक्छ।
जनताको मत पाँच वर्षका लागि, नेताको व्यवहार आजीवन किन ?
चुनावका बेला राजनीतिक नेतृत्व गाउँगाउँ पुग्छ। जनताको घरमा खाना खान्छ। दुःखसुख सोध्छ। बेरोजगारी, महँगी, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य र विकासका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्छ। तर चुनाव सकिएपछि त्यही नेतृत्वको व्यवहार किन बदलिन्छ ?
जनताको मत लिएर सत्तामा पुगेपछि जनताकै समस्या सुन्न समय नहुने, आफ्ना वरिपरि सीमित सल्लाहकार र स्वार्थ समूह राख्ने तथा सार्वजनिक प्रश्नबाट टाढिन खोज्ने प्रवृत्तिले राजनीतिक नेतृत्व र नागरिकबीच दूरी बढाउँछ।
लोकतन्त्रको अर्थ जनताले पाँच वर्षमा एकपटक प्रतिनिधि छान्ने अधिकार मात्रै होइन। जनताले निरन्तर प्रश्न गर्न पाउने, सरकारको कामको मूल्यांकन गर्न पाउने र सार्वजनिक पदमा बसेका व्यक्तिलाई जवाफदेही बनाउन पाउने अधिकार पनि हो।
जनताको मतलाई केवल सत्तामा पुग्ने सिँढीका रूपमा बुझ्ने हो भने लोकतन्त्रको आत्मा कमजोर हुन्छ।
सत्तामा पुगेपछि जनतालाई बिर्सने र सत्ता गुमेपछि फेरि जनताको घरदैलोमा पुगेर लोकतन्त्रको दुहाइ दिने राजनीतिक संस्कारमाथि नागरिकले प्रश्न गर्नु अस्वाभाविक होइन।
जेन्जी आन्दोलन : असन्तुष्टिको अभिव्यक्ति र पुरानो राजनीतिक संस्कारमाथिको प्रश्न
जेन्जी आन्दोलनलाई केवल एउटा पुस्ताको आवेग वा सामाजिक सञ्जालबाट उत्पन्न असन्तुष्टिका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसलाई नेपालको राजनीतिक नेतृत्व, शासन प्रणाली, सार्वजनिक जवाफदेहिता र राज्यप्रतिको नागरिक भरोसासँग जोडेर विश्लेषण गर्नुपर्छ।
नयाँ पुस्ताले पुरानो पुस्ताले निर्माण गरेको हरेक संस्था अस्वीकार गरेको हो भन्ने निष्कर्ष पनि सही हुँदैन। तर उनीहरूले राजनीतिक नेतृत्वको व्यवहार, अवसरको वितरण, भ्रष्टाचारका प्रश्न, रोजगारीको अवस्था र सार्वजनिक संस्थाहरूको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएका थिए भन्ने पक्षलाई बेवास्ता गर्न मिल्दैन।
नयाँ पुस्ताले खोजेको परिवर्तन केवल अनुहार परिवर्तन हो कि शासन सञ्चालनको तरिका परिवर्तन पनि हो ? यो प्रश्न आन्दोलनपछिको राजनीतिक यात्रामा झनै महत्त्वपूर्ण बनेको छ।
पुरानो नेतृत्वले आफ्नो विगतको समीक्षा नगरी आन्दोलनलाई केवल भावनात्मक प्रतिक्रिया ठान्यो भने त्यसले असन्तुष्टिको वास्तविक कारण बुझ्न सक्दैन। त्यस्तै, नयाँ नेतृत्वले आफूलाई पुरानोभन्दा फरक घोषणा गरेर मात्रै जनविश्वास कायम गर्न सक्दैन।
परिवर्तनको अर्थ नयाँ व्यक्ति कुर्सीमा बस्नु मात्रै होइन। निर्णय प्रक्रियामा पारदर्शिता, सार्वजनिक पदको जवाफदेहिता, कानुनी समानता र नागरिकको सम्मान स्थापित हुनु हो।
अहिले गोहीका आँसु झारेर हुन्छ ?
विगतमा नेतृत्वको वरिपरि सीमित व्यक्तिको पहुँच र प्रभाव कायम रहँदा मौन बस्नेहरू आज आफ्नो पहुँच कमजोर भयो भन्दै लोकतन्त्र खतरामा परेको भाष्य निर्माण गर्न खोज्छन् भने उनीहरूले पहिला आफ्नै राजनीतिक इतिहासको समीक्षा गर्नुपर्छ।
लोकतन्त्रमा आलोचना गर्न पाइन्छ। असहमति राख्न पाइन्छ। सरकारसँग जवाफ माग्न पाइन्छ। नागरिकले आफ्नो समस्या राख्न पाउनुपर्छ। तर विगतमा जनताको सहज पहुँच सुनिश्चित गर्न नसक्ने नेतृत्वले आज लोकतन्त्रको नाममा भावनात्मक भाषण गरेर मात्रै जनताको विश्वास प्राप्त गर्न सक्दैन।
अर्कोतर्फ, वर्तमान नेतृत्वले पनि विगतका कमजोरी देखाएर आफूलाई सबै प्रश्नभन्दा माथि राख्न मिल्दैन। पुरानो व्यवस्थामा गलत भयो भन्दैमा नयाँ व्यवस्थाका कमजोरीलाई सही ठहर गर्न सकिँदैन।
लोकतन्त्र कुनै व्यक्तिको निजी सम्पत्ति होइन। पुराना नेताको पनि होइन, नयाँ नेताको पनि होइन। यो नागरिकको अधिकार र संविधानले स्थापित गरेको राजनीतिक व्यवस्था हो।
त्यसैले लोकतन्त्रको संरक्षण गर्ने नाममा पुरानो बेथिति जोगाउने प्रयास पनि गलत हो र परिवर्तनको नाममा नागरिकका मौलिक अधिकार कमजोर पार्ने प्रयास पनि स्वीकार्य हुँदैन।
राजनेताले घाउ मात्रै होइन, पिलो र क्यान्सर पनि देख्नुपर्छ
देशको नेतृत्व गर्नु भनेको देखिएका समस्या समाधान गर्ने काम मात्रै होइन। समस्याको जरो पहिचान गरेर दीर्घकालीन उपचार गर्ने जिम्मेवारी पनि हो।
घाउ देखियो भने मलम लगाउनुपर्छ। पिलो बन्यो भने भित्रको संक्रमण पहिचान गर्नुपर्छ। क्यान्सर फैलिएको छ भने समयमै गम्भीर उपचार गर्नुपर्छ। राज्य सञ्चालनमा पनि यही दृष्टिकोण आवश्यक हुन्छ।
नेपालको राजनीतिक र प्रशासनिक संरचनामा वर्षौँदेखि थुप्रिएका विकृति सामान्य समस्या होइनन्। राजनीतिक संरक्षणमा फस्टाएको भ्रष्टाचार, सार्वजनिक खरिदमा मिलेमतो, ठेक्कापट्टामा अनियमितता, राजस्व चुहावट, तस्करी, सम्पत्ति शुद्धीकरण, बिचौलियाको प्रभाव र प्रशासनिक निर्णयमा हुने अनुचित हस्तक्षेपजस्ता विषय राज्यका गम्भीर चुनौती हुन्।
केही व्यक्तिलाई पक्राउ गरेर, केही कर्मचारीलाई सरुवा गरेर वा केही राजनीतिक नियुक्ति परिवर्तन गरेर मात्रै यी समस्या समाधान हुँदैनन्।
कसले राज्यको स्रोतमा अनुचित लाभ लियो ? कसले राजनीतिक पहुँच प्रयोग गरेर सार्वजनिक सम्पत्ति दोहन गर्योा ? कसले प्रशासनिक संयन्त्रलाई निजी स्वार्थमा प्रयोग गर्योस ? कसले अनुसन्धान र कानुनी कारबाही प्रभावित गर्न खोज्यो ? यस्ता प्रश्नको निष्पक्ष अनुसन्धान हुनुपर्छ।
राजनेताको वास्तविक परीक्षा आफ्ना विरोधीमाथि कारबाही गर्दा होइन, आफ्ना नजिकका व्यक्तिमाथि पनि समान कानुन लागू गर्न सक्दा हुन्छ।
कानुनको कठघरामा विरोधी मात्रै होइन, समर्थक पनि उभिनुपर्छ। आफ्ना मानिसलाई संरक्षण गर्ने र अरूलाई मात्रै कारबाही गर्ने प्रवृत्तिले सुशासन होइन, राजनीतिक प्रतिशोधको वातावरण सिर्जना गर्छ।
नयाँ नेतृत्व पनि पुरानै बाटोमा हिँड्यो भने परिवर्तनको अर्थ के ?
जेन्जी आन्दोलनपछिको राजनीतिक वातावरणले नयाँ नेतृत्व र पुराना राजनीतिक शक्तिहरू दुवैलाई आत्मसमीक्षाको अवसर दिएको छ। यो अवसरलाई केवल राजनीतिक प्रतिस्पर्धा र शक्ति प्रदर्शनमा सीमित गरियो भने परिवर्तनको अपेक्षा पूरा हुँदैन।
नयाँ नेतृत्वले विगतका कमजोरी दोहोर्या उँदैन भन्ने विश्वास व्यवहारबाट प्रमाणित गर्नुपर्छ।
नेताको वरिपरि फेरि बिचौलियाको घेरा नबनोस्। सरकारी नियुक्ति योग्यता र क्षमताका आधारमा होस्। ठेक्कापट्टा पारदर्शी होस्। भ्रष्टाचार अनुसन्धान राजनीतिक प्रभावबाट मुक्त होस्। सार्वजनिक निकायमा नागरिकको पहुँच सुनिश्चित होस्।
सरकारको आलोचना गर्ने पत्रकार, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणलाई शत्रु ठान्ने प्रवृत्ति नहोस्। प्रश्न उठाउनेलाई निरुत्साहित गर्ने होइन, तथ्य र प्रमाणसहित जवाफ दिने संस्कार विकास होस्।
प्रधानमन्त्री वा मन्त्रीले प्रत्येक नागरिकलाई व्यक्तिगत रूपमा भेट्न सम्भव नहुन सक्छ। तर नागरिकको आवाज नेतृत्वसम्म पुग्ने संस्थागत संयन्त्र बनाउन सकिन्छ।
सार्वजनिक सुनुवाइ, नागरिक गुनासो व्यवस्थापन, डिजिटल पहुँच र नियमित संवादलाई प्रभावकारी बनाउन सकिन्छ। नेतृत्वले आफूलाई जनताको मालिक होइन, जनताको सेवक ठान्नुपर्छ।
राजनीतिक दलभित्र पनि शल्यक्रिया आवश्यक
नेपालको राजनीतिक परिवर्तनका लागि सरकार परिवर्तन मात्रै पर्याप्त छैन। राजनीतिक दलहरूको आन्तरिक संरचना र कार्यशैलीमा पनि सुधार आवश्यक छ।
पार्टीको नेतृत्व छनोट पारदर्शी हुनुपर्छ। आन्तरिक निर्वाचन निष्पक्ष हुनुपर्छ। आर्थिक स्रोत र खर्चको विवरण सार्वजनिक हुनुपर्छ। नेताहरूको सम्पत्ति विवरणको विश्वसनीय परीक्षण हुनुपर्छ। सार्वजनिक पदमा बसेका व्यक्तिको स्वार्थ बाझिने अवस्थालाई नियन्त्रण गर्नुपर्छ।
राजनीतिक दलभित्र योगदानको मूल्यांकन हुनुपर्छ। वर्षौँ संगठनमा काम गरेका इमानदार कार्यकर्तालाई अवसरबाट वञ्चित गरेर आर्थिक प्रभाव भएका व्यक्तिलाई प्राथमिकता दिने संस्कार अन्त्य हुनुपर्छ।
त्यस्तै, राजनीतिक दलको नाममा हुने हिंसा, धम्की, चन्दा असुली र गैरकानुनी गतिविधिमाथि निष्पक्ष कारबाही हुनुपर्छ। पार्टीको झण्डा ओढ्दैमा कोही कानुनभन्दा माथि हुँदैन।
लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू पनि लोकतान्त्रिक हुनुपर्छ। पार्टीभित्रै प्रश्न गर्न नपाइने, नेतृत्वको आलोचना गर्न नपाइने र अवसर केही व्यक्तिको नियन्त्रणमा रहने अवस्था कायम राखेर देशमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सकिँदैन।
लोकतन्त्रको मालिक जनता हुन्, पहुँचवाला होइनन्
जेन्जी आन्दोलनअघिको राजनीतिक अवस्थालाई फर्केर हेर्दा सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो– राजनीतिक नेतृत्व जनताको सेवामा थियो कि सीमित स्वार्थ समूहको प्रभावमा ?
बूढानीलकण्ठ, बालकोट र खुमलटार हुन् वा अन्य राजनीतिक शक्तिकेन्द्र, त्यहाँ पुग्ने अवसर सबै नागरिकका लागि समान हुनुपर्छ भन्ने होइन; तर राज्यका निर्णयमा पहुँच र प्रभावका आधारमा कसैलाई विशेष सुविधा र कसैलाई उपेक्षा गर्ने अवस्था हुनु हुँदैन।
गुण्डा, तस्कर, दलाल र ठेकेदारसँग जोडिएका व्यक्तिहरूको राजनीतिक पहुँचबारे उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्छ। तर आरोपका आधारमा कसैलाई दोषी ठहर गर्नु हुँदैन। प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढ्नुपर्छ। इमानदार नेता, कार्यकर्ता र आमनागरिकले आफ्नो आवाज राख्न पाउने वातावरण बन्नुपर्छ।
आज पुरानो नेतृत्वले विगतको हिसाब दिनुपर्छ। नयाँ नेतृत्वले वर्तमानको जवाफदेहिता प्रमाणित गर्नुपर्छ। राजनीतिक दलहरूले आफ्नो संगठनभित्रको विकृति हटाउनुपर्छ। राज्यका निकायले निष्पक्ष रूपमा काम गर्नुपर्छ।
किनकि परिवर्तनको वास्तविक अर्थ सत्ता र अनुहार परिवर्तन मात्रै होइन, नागरिकले राज्यबाट पाउने व्यवहार परिवर्तन हुनु हो।
नेतृत्वले बुझ्नुपर्छ– जनताको मतबाट सत्ता प्राप्त गर्न सकिन्छ, तर जनताको विश्वास भाषणले होइन, व्यवहारले मात्रै जित्न सकिन्छ।
घाउमा मलम लगाउने नेतृत्व धेरै देखिए। तर घाउ बनाउने कारण पहिचान गर्ने नेतृत्वको खाँचो छ। पिलो चिरेर संक्रमण निकाल्ने र क्यान्सरको जरैसम्म पुगेर उपचार गर्ने राजनीतिक साहस आवश्यक छ।
अन्ततः लोकतन्त्रको अर्थ नेताको निवासमा पहुँच पाउनु होइन, राज्यको ढोकामा सबै नागरिकको समान अधिकार स्थापित हुनु हो। लोकतन्त्रको अर्थ शक्तिशालीको संरक्षण होइन, शक्तिशालीलाई पनि कानुनको दायरामा ल्याउन सक्ने निष्पक्ष व्यवस्था हो।
जेन्जी आन्दोलनले उठाएका प्रश्नको उत्तर नयाँ नारामा होइन, पुरानो राजनीतिक संस्कारको अन्त्य र नयाँ जवाफदेही शासन प्रणालीको स्थापनामा खोजिनुपर्छ।
नत्र हिजो बूढानीलकण्ठ, बालकोट र खुमलटारमा सीमित व्यक्तिको रजगज थियो भने भोलि अर्को नाम र अर्को ठेगानामा त्यही प्रवृत्ति दोहोरिनेछ। अनुहार फेरिनेछ, तर राज्यको रोग फेरिने छैन।
राजनीति जनताको सेवाका लागि हो कि जनताको नाममा सीमित व्यक्तिको साम्राज्य चलाउनका लागि ? यो प्रश्नको जवाफ इतिहासले होइन, आजको नेतृत्वको व्यवहारले दिनुपर्छ।
