Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस/एएनआई)

इरानले हर्मुज जलघाँटीको पूर्वी क्षेत्रदेखि उत्तरी हिन्द महासागरसम्मको रणनीतिक जलक्षेत्र आफ्नो नौसेनाको नियन्त्रणमा रहेको दाबी गरेको छ । अमेरिका र इरानबीच समुद्री तनाव बढिरहेका बेला इरानी सेनाले यस्तो दाबी गरेको हो ।

    सरकारी प्रसारक आइआरआइबीका अनुसार इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रमिनियाले नौसेनाले उक्त क्षेत्रमा निगरानी र सुरक्षा कायम राखेको बताउनुभयो । उहाँले यसअघि इराकको तत्कालीन बाथिस्ट नौसेनालाई पराजित गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान द्वन्द्वमा पनि इरानी नौसेनाले आफ्नो नियन्त्रण कायम राखेको दाबी गर्नुभयो ।

    यसैबीच, इरानी नौसेना कमान्डर एडमिरल सहराम इरानीले अमेरिकी नौसैनिक नाकाबन्दीलाई वासिङ्टनको रणनीतिक कमजोरीको सङ्केत बताउनुभएको छ । उहाँले नाकाबन्दीका बाबजुद इरानका बन्दरगाह सञ्चालनमा रहेको र आफ्ना जहाजलाई सुरक्षा दिइएको दाबी गर्नुभयो । युद्धको दोस्रो दिन अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कनमाथि इरानले प्रहार गरेको उहाँको दाबी भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

    अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेको पलाउको झण्डावाहक व्यावसायिक जहाज एमभी प्यासिफिक आर्चरलाई शुक्रबार निष्क्रिय बनाएको जनाएको छ । पटकपटक चेतावनी दिँदा पनि निर्देशन पालना नगरेपछि जहाजको सञ्चालन प्रणालीमा सटीक हतियार प्रहार गरिएको र त्यसमा रहेका चालकदलका सदस्य सुरक्षित रहेको सेन्टकमले जनाएको छ ।

    सेन्टकमका अनुसार नाकाबन्दी पालना नगर्ने छवटा जहाज निष्क्रिय पारिएका छन् भने अन्य १५८ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराइएको छ ।

    यसैबीच, इरानी सरकारी प्रसारक आइआरआइबीले हर्मुज जलघाँटीमा अनुमति नलिएको समुद्री मार्गबाट अघि बढ्न खोजेको एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको जनाएको छ । घनाम टापुको उत्तरतर्फ भएको भनिएको उक्त घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan