महिलाको आर्थिक सहभागिता बढेसँगै मलेसियामा लैङ्गिक असमानता घट्दै
महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै गएको छ ।
मलेसियाको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा देशको समग्र लैङ्गिक समानता सूचकाङ्क ०.७११ पुगेको छ । सन् २०२४ मा यस्तो सूचकाङ्क ०.७०८ रहेको थियो । नयाँ सूचकाङ्कअनुसार मलेसियाले महिला र पुरुषबीच रहेको असमानताको ७१.१ प्रतिशत अन्तर कम गरेको देखिएको छ ।
तथ्याङ्क विभागका अनुसार लैङ्गिक समानतामा आएको सुधारको मुख्य कारण महिलाको आर्थिक सहभागिता र अवसरमा भएको वृद्धि हो । यस क्षेत्रको उपसूचकाङ्क सन् २०२४ को ०.७०३ बाट बढेर सन् २०२५ मा ०.७२८ पुगेको छ ।
मलेसियामा श्रम बजारमा महिलाको सहभागिता दर पनि सामान्य रूपमा बढेको छ । सन् २०२४ मा ५६.५ प्रतिशत रहेको महिलाको श्रम सहभागिता दर सन् २०२५ मा बढेर ५६.६ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।
त्यसैगरी महिलाको औसत मासिक तलब तथा ज्यालामा पनि वृद्धि भएको छ । सन् २०२४ मा औसत मासिक तीन हजार ४९९ मलेसियाली रिङ्गिट रहेको महिलाको आम्दानी सन् २०२५ मा बढेर ३ हजार ६३५ रिङ्गिट पुगेको छ । यो रकम अमेरिकी डलरमा करिब ८८३ डलर बराबर हुन्छ ।
व्यवस्थापकीय तथा नेतृत्वदायी पदमा महिलाको उपस्थिति पनि बढेको छ । विधायक, वरिष्ठ अधिकारी तथा व्यवस्थापकका रूपमा कार्यरत महिलाको सङ्ख्या सन् २०२४ मा दुई लाख १९ हजार रहेकोमा सन् २०२५ मा बढेर २ लाख ४१ हजार पुगेको छ ।
त्यस्तै व्यावसायिक तथा प्राविधिक पेसामा संलग्न महिलाको सङ्ख्यामा पनि वृद्धि भएको छ । सन् २०२४ मा यस्ता पेसामा १७ लाख महिला कार्यरत रहेकामा सन् २०२५ मा यो सङ्ख्या बढेर १८ लाख पुगेको तथ्याङ्क विभागले जनाएको छ ।
महिलाको रोजगारी, आम्दानी तथा नेतृत्वदायी भूमिकामा बढ्दो सहभागिताले मलेसियामा आर्थिक क्षेत्रमा महिला र पुरुषबीचको अन्तर कम गर्न सहयोग पु¥याएको तथ्याङ्कले देखाएको छ ।
