बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठूलो स्तरको अनुसन्धान सुरु गरिएको छ । यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो ।
अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन् ।
बिहीबार सार्वजनिक गरिएको संस्थानको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ । अनुसन्धानबाट प्राप्त नतिजाले यस्ता समस्या विकास हुनुका पछाडिका कारण बुझ्न र उपचारका प्रभावकारी उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन् । कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन् ।
विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पर्न सक्छ । स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यस्ता समस्याको प्रभाव बोल्ने क्षमतामा मात्र सीमित नहुने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ । सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि पढ्ने र लेख्ने क्षमतासँग पनि जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु महत्त्वपूर्ण मानिएको छ ।
मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन विकास हुन्छ भन्ने बुझ्न सहयोग गर्ने बताउनुभएको छ ।
उहाँका अनुसार यस अनुसन्धानको मुख्य उद्देश्य समस्यासँग सम्बन्धित वंशाणुगत कारण पत्ता लगाउनुका साथै प्रभावित बालबालिकाको समयमै पहिचान र उनीहरूको आवश्यकताअनुसार उपचार तथा हेरचाहको व्यवस्था गर्न सहयोग पुर्याउनु हो ।
मोर्गनका अनुसार बोलीसम्बन्धी समस्या भएका प्रत्येक चारमध्ये करिब एक जनाले आफ्नो परिवारमा पनि यस्तै समस्या रहेको इतिहास सुनाएका छन् । यसले परिवारभित्र यस्तो समस्या देखिने सम्भावनालाई संकेत गरे पनि परिवारमा कसैलाई यस्तो समस्या नभएका बालबालिकामा समेत वंशाणुगत कारणको भूमिका हुन सक्ने उहाँले बताउनुभयो ।
यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो । तर, अहिले सुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने सामान्य बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ ।
यसका लागि अनुसन्धानमा सहभागी हुने योग्य बालबालिकाका परिवारले इन्टरनेटमार्फत केही छोटा बोलीसम्बन्धी गतिविधि पूरा गर्नुपर्नेछ । साथै, बालबालिकाको र्यालको नमुना संकलन गरी वंशाणुगत पदार्थको परीक्षण गरिनेछ । उक्त परीक्षणबाट बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत विशेषताहरू पहिचान गर्ने प्रयास गरिनेछ ।
अनुसन्धानकर्ताहरूले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यालाई समयमै पहिचान गर्न सके उनीहरूको सञ्चार क्षमता, सिकाइ र सामाजिक विकासमा आवश्यक सहयोग पुर्याउन सहज हुने विश्वास व्यक्त गरेका छन् ।
यस अध्ययनबाट प्राप्त हुने निष्कर्षले भविष्यमा बोलीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान र उपचारलाई थप प्रभावकारी तथा उनीहरूको आवश्यकताअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
