मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान
जनकपुरधाम, २६ कात्तिकः मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताउनुभयो ।
मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले हिजो पत्राचार गर्नुभएको थियो ।
विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वास लिनुअघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताउनुभयो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।
सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाउनुभएको छ । एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।काठमाडौं, २६ कात्तिक ।


