आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीको माग
काठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
आफूलाई गैरकानुनी र स्वेच्छाचारी ढंगले पदबाट हटाइएको दाबी गर्दै कार्कीले आईजीपीमै पुनर्बहालीको माग गरेका हुन्।
कार्कीले बिहीबार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।
उनका कानुन व्यवसायी अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार रिट अदालतमा पठाइएको हो। तर, सर्वोच्च अदालत प्रशासनले रिटको अध्ययन गरिरहेकाले समाचार तयार पार्दासम्म औपचारिक रूपमा दर्ता भइसकेको छैन।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो।
त्यस्तै, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। केसीले बुधबार नै प्रहरी प्रधान कार्यालयमा पदबहालीसमेत गरिसकेका छन्।


