बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी
बैतडी, २० कात्तिकः बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाउनुभयो । उहाँलाई नागरिता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उहाँ सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपर्यो ।
बिहीबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले उहाँको घरपायक पर्ने ठाउँ (ढोल्यामोड)मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएपछि उहाँको अनुहारमा खुसीको सीमा नै थिएन । “आफूलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । अरु कसैले बनाउनुपर्छ पनि भनेनन् । सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको थियो”, उहाँले भन्नुभयो, “अहिले बल्ल नागरिकता बनेको छ । अब त सामाजिक सुरक्षा भत्ता पाइने भयो ।”
‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत जिल्ला प्रशाशन कार्यालयले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई घरमै वा घरपायक पर्ने स्थानमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिरहेको छ ।
बिहीबार साउदसहित पाँच जना अपाङ्गता भएका र अशक्त नागरिकलाई उनीहरूको घरपायक पर्ने ठाउँमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित भएका नागरिकलाई घरपायक पर्ने स्थानमा सेवा दिने उद्देश्यले प्रशासनले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
सिगास गाउँपालिका–२ का ‘क’ वर्गको अपाङ्गताभएकी मनिषाकुमारी धामी (१६ वर्ष), सोही वडाका मुकुन्दसिंह धामी (१९ वर्ष) र ‘ख’ वर्गको अपाङ्गता भएका वसन्त नेपाली (१६ वर्ष)लाई वडा कार्यालयमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै सिगास गाउँपालिका–१ का ‘क’ वर्गका अपाङ्गताभएका रन्जित भुल (१६ वर्षीय) लाई घरपायक पर्ने स्थानमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
वडा कार्यालयमा छोरा (मुकुन्द)को नागरिकता बनेपछि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको सिगास गाउँपालिका–२ का स्थानीय अमरसिंह धामीले बताउनुभयो । “शारीरिक असक्त छोरा बोकेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुर्याउन सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “वडा कार्यालयमै नागरिकता बनेपछि खुसी लागेको छ ।”
खर्च पनि बढी लाग्ने र कार्यालयसम्म पुगेर नागरिकता लिनसक्ने अवस्था नभएका अशक्त नागरिकले वडामै सेवा पाउँदा सहज भएको सिगास गाउँपालिका–२ का वडासचिव प्रताप बोहराले बताउनुभयो । शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई वडा कार्यालयले प्रशासनलाई सिफारिस गरेको र प्रमुख जिल्ला अधिकारीसहितको टोली वडा कार्यालयमा पुगेर तीनै जनालाई नागरिकता प्रदान गरिएको बोहराले जानकारी दिनुभयो ।
एघार जनाले पाए नागरिकता
बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सञ्चालन भएको दुई महिनाको अवधिमा ११ जना अशक्त नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
कार्यक्रमअन्तर्गत जिल्लाभरका नागरिकताबाट वञ्चित अशक्तको विवरण सङ्कलन गरिरहेको कार्यालयले जनाएको छ । “नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरूकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ।


