रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त
काठमाडौँ, २६ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखःव्यक्त गर्नुभएको छ ।
सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ । यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
सभापति लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।”
उहाँले घाइतेको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।


