Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | रासस


दमौली (तनहुँ), २६ कात्तिकः भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ ।

नगरपालिकाले सडक स्तरोन्नति, खानेपानी विस्तार, सिँचाइ संरचना निर्माण तथा सार्वजनिक सुविधाका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आधारभूत सेवाको पहुँच विस्तार गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोख्रेलका अनुसार गत एक वर्षमा एक हजार ७८८ दशमलव ५ मिटर सडक कालोपत्र तथा ढलान गरिएको छ । यससँगै नगरपालिकाभित्र हालसम्म कालोपत्र तथा ढलान गरिएको सडकको कुल लम्बाइ २१ हजार २० दशमलव ५ मिटर पुगेको छ ।

यस अवधिमा तीन हजार ४१९ मिटर सडक ग्राभेल गरिएको छ । नगरपालिकाभित्र हालसम्म ग्राभेल गरिएको सडकको लम्बाइ १९ हजार ५९९ मिटर पुगेको छ । त्यसैगरी, तीन हजार ४१९ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ । यससँगै नगरपालिकामा हालसम्म खोलिएको नयाँ सडकको ट्र्याकको लम्बाइ ८३ हजार २७१ मिटर पुगेको छ ।

स्थानीय बस्तीलाई सडक सञ्जालमा जोड्ने, आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले सडक निर्माण तथा स्तरोन्नतिका काम गरिएको पोख्रेलले बताउनुभयो ।

नगरपालिकाले खानेपानीको पहुँच विस्तारलाई पनि प्राथमिकता दिएको छ । गत एक वर्षमा थप १०१ परिवारमा खानेपानी सुविधा विस्तार गरिएको छ ।

त्यस्तै, कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले यस अवधिमा ७०० मिटर सिँचाइ पूर्वाधार निर्माण गरिएको छ । यससँगै नगरपालिकामा हालसम्म निर्माण गरिएको सिँचाइ संरचनाको कुल लम्बाइ चार हजार ९४० मिटर पुगेको छ । सिँचाइ सुविधा विस्तारले खेतीयोग्य जमिनमा पानीको उपलब्धता बढाउनुका साथै कृषि उत्पादनमा सहयोग पुग्ने पोख्रेलले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासअन्तर्गत गत एक वर्षमा मन्दिर, गुम्बा र चर्च गरी तीनवटा संरचना निर्माण तथा विकास गरिएको छ । यससँगै नगरपालिकाभित्र यस्ता धार्मिक संरचनाको सङ्ख्या ९६ पुगेको छ ।

त्यसैगरी, स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि एउटा स्वास्थ्यचौकी थपिएको छ । सार्वजनिक यातायातका यात्रुलाई सहजताका लागि तीनवटा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ । यससँगै नगरपालिकामा यात्रु प्रतीक्षालयको सङ्ख्या १० पुगेको छ ।

सानादेखि ठूला आयोजना सम्पन्न

नगरपालिकाले विभिन्न बजेटका आयोजना कार्यान्वयनलाई पनि प्राथमिकता दिएको छ । गत एक वर्षमा रु ५० लाखभन्दा बढी बजेटका चारवटा आयोजना सम्पन्न भएका छन् । त्यस्तै, रु पाँच लाखदेखि रु ५० लाखसम्म बजेट विनियोजन भएका ५१ वटा र रु पाँच लाखसम्म बजेट भएका १५५ वटा आयोजना सम्पन्न गरिएको छ ।

सानादेखि ठूला बजेटका आयोजना कार्यान्वयनले स्थानीय आवश्यकता सम्बोधन गर्न र विभिन्न वडामा विकास निर्माणका काम अघि बढाउन सहयोग पुगेको नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो ।

सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, धार्मिक सम्पदा तथा सार्वजनिक सुविधासम्बन्धी पूर्वाधारमा गरिएको लगानीले नगरको समग्र विकासमा योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan