हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन
भोजपुर, २० कात्तिकः पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुट्नुभएको छ । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उहाँले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको हो ।
भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आउनुभएको छ । उहाँले एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै गाउँबस्ती डुल्ने गरेको बताउनुभयो ।
परम्परागत रूपमा फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएको छ । फेरी लगाउने जोगीले रातको समयमा घरघरमा पुगेर मन्त्रसहित परम्परागत विधिअनुसार फेरी लगाउने प्रचलन छ । यसलाई स्थानीयले धार्मिक आस्था र सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन् ।
फेरी लगाउन गाउँघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने परम्परा रहेको छ । आफ्नो गच्छेअनुसार सामग्री दिने प्रचलनले फेरी लगाउने जोगीको जीविकोपार्जनमा सहयोग पुग्ने गरेको छ । फेरी लगाउने र सामग्री दिने चलनले गाउँघरमा परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।
स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको फेरी लगाउने पेसा विगतमा धेरैले अपनाउने गरेका थिए । याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा गर्दै आएको भए पनि अहिले घटेर दुई जनामा सीमित भएको जोगीले बताउनुभयो ।
पुर्खौँदेखि चलिआएको यो पेसाको संरक्षण तथा स्थानीय मौलिक संस्कृति, परम्पराको जगेर्नासँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यसको निरन्तरताका लागि आफूले प्रयास गरिरहेको उहाँको भनाइ छ ।
समयक्रमसँगै नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै गएको अवस्थामा फेरी लगाउने चलन सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । पहिले गाउँघरमा व्यापक रूपमा प्रचलनमा रहेको यो परम्परा अहिले सीमित व्यक्तिले मात्र धान्दै आएका छन् । परम्परागत पेसा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तामा यसको महत्व बुझाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।


