अमेरिकी आप्रवासी हिरासतमा १८औँ मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोद्वारा निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासी हिरासतमा १८ औँ मेक्सिकन नागरिकको मृत्यु भएपछि मेक्सिको सरकारले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेको छ ।
मेक्सिकोको विदेश मन्त्रालयका अनुसार, पछिल्लो मृत्यु अमेरिका–मेक्सिको सीमामा पर्ने लारेडो सहरस्थित आप्रवासी प्रशोधन केन्द्रमा भएको हो । मन्त्रालयले मृतकको पहिचान सार्वजनिक नगरे पनि उनका परिवारसँग सम्पर्क गरिएको जनाएको छ ।
ट्रम्पले आफ्नो चुनावी वाचाअनुसार अमेरिकी इतिहासकै ठूलो सामूहिक निर्वासन अभियान अघि बढाइरहेका बेला देशभर आप्रवासी पक्राउ पर्ने क्रम जारी छ ।
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) को हिरासतमा १७ जना मेक्सिकन नागरिकको मृत्यु भएको घटनालाई लिएर मेक्सिकोले गत जुलाईमा फौजदारी उजुरी दर्ता गराएको थियो । पछिल्लो घटनासँगै जनवरी २०२५ मा ट्रम्पले पदभार ग्रहण गरेयता हिरासतमा मृत्यु हुने मेक्सिकन नागरिकको सङ्ख्या १८ पुगेको छ ।
आईसीईले भने पछिल्लो मृत्युसम्बन्धी कुनै जानकारी सार्वजनिक गरेको छैन ।
मेक्सिकोको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी हिरासत वा आप्रवासनसम्बन्धी कारबाहीका क्रममा आफ्ना नागरिकको बारम्बार भइरहेको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले यस्ता घटनामा अमेरिकी अधिकारीहरूबाट प्रभावकारी प्रतिक्रिया आउनुपर्नेमा जोड दिएको छ ।
मेक्सिको सरकारले घटनाको तत्काल, विस्तृत र पारदर्शी अनुसन्धान गर्न माग गरेको छ । साथै, पछिल्लो मृत्युलाई लिएर पनि औपचारिक उजुरी दर्ता गराउने जनाएको छ ।
गत वर्ष अमेरिकाका आप्रवासी हिरासत केन्द्रहरूमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । सन् २००४ मा आईसीई स्थापना भएयता यो सबैभन्दा ठूलो वार्षिक सङ्ख्या भएको विवरणमा उल्लेख छ ।
मेक्सिको सरकारले आफ्ना नागरिकको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै हिरासतमा हुने मृत्युका घटनामा जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ ।

