नवरात्रको छैठौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै
महोत्तरी, ३० असोजः आज शारदीय नवरात्रको छैठौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज दशहारा (बडादसैँ) पर्वको जारी नवरात्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ ।
नवरात्रको छैठौँ दिन अर्थात् षष्टी तिथिमा यो विधि सम्पन्न गर्ने मैथिल परम्परा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताउनुभयो । उहाँका अनुसार पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि गरिने चलन छ ।
मिथिला क्षेत्रमा दशहारा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भनिन्छ । ‘बेलनौत’ को शाब्दिक अर्थ बेललाई निम्ता दिनु हो । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न हुँदैछन् ।
“नवरात्रको छैठौँ दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने मैथिल परम्परा हो । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधि गरिन्छ”, गुरुकुलका शिक्षक झाले भन्नुभयो ।
सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारी दिएपछि देवी पूर्ण सजिव बन्ने विश्वास गरिन्छ । त्यसपछिमात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ ।
दशहारा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्तीबस्तीमा देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गर्न आज बिहानैदेखि यसक्षेत्रमा चहलपहल बढेको छ । ‘बेलनौत’ मा सरिक हुन बिहानैदेखि घरको काम भ्याएर आमनरनारी तयारीमा जुटेका छन् ।
पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् । यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजया दशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा रहेको छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।

