Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अष्टमातृका नाच सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस)

ललितपुर, २६ असोजः परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सुरु भएको छ । 

हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने यो जात्रा यस वर्षपनि परम्परागत विधि तथा धार्मिक आस्थाका साथ प्रदर्शन गरिने अष्टमातृ नाच प्रवन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो ।

मल्लकालीन राजा श्रीनिवास मल्लको पाला (नेपाल संवत् ७८४) देखि प्रदर्शनमा ल्याइएको यो तान्त्रिक नृत्य करिब ३६२ वर्ष पुरानो मानिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिन ललितपुरको नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेर यो नाचको प्रारम्भ गरिन्छ । 

उक्त ऐतिहासिक नाचले नेवा सभ्यताको मौलिकता, धार्मिक विश्वास र सांस्कृतिक वैभवलाई जीवन्त बनाउँदै आएको छ । उहाँले भन्नुभयो । नाच प्रबन्ध समितिका अध्यक्ष शाक्यले अनुसार नेवार समुदायको शाक्य र बज्राचार्य वंशका कलाकारहरू सहभागी हुने यो नाच मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकाल (नेपाल संवत् ७८४) देखि सुरु भएका बताउनुभयो । 

      देशमा शान्ति, सुरक्षा र समृद्धि कायम गर्ने तथा मानव जीवनका आठ वटा महाभय (जल, अग्नि, सिंह, सर्प, हात्ती, चोर, झ्यालखाना र भूतप्रेत) बाट मुक्ति पाउने जनविश्वासका साथ नाच सुरु गरिएको इतिहास छ ।

     आज बिहान बाजागाजासहित नागबहाल–पट्को हुँदै मङ्गलबजार पुगेका देवगणलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराएसँगै यो नाच औपचारिक रूपमा सर्वसाधारणका लागि प्रदर्शन गरिएको हो ।

     सुरुका चार दिन नकबहिलबाट सुरु भई पाटन दरबार क्षेत्रको मूलचोकमा नाच समापन गरिन्छ । त्यसपछिका पाँच दिन रातिको समयमा कातिक डबलीमा नाच देखाइने परम्परा छ । 

फूलपाती र विजयादशमीका दिन दिउँसो मूलचोकमा तथा अन्तिम दिन अर्थात् एकादशीका दिन नकबहिल डबलीमा विशेष नृत्य प्रदर्शन गरी यस वर्षको अष्टमातृका नाच समापन गरिने भएको छ ।

शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा सहभागी १३ देवगणका लागि देवीदेवताका मखुण्डो, परम्परागत तान्त्रिक भेषभूषा र विशेष गरगहना पहि¥याइ मण्डलाकार बनाएर तान्त्रिक विधिपूर्वक नचाइन्छ । 

प्रत्येक देवगणको फरकफरक तान्त्रिक मुद्रा र भावभङ्गी हुने भएकाले यसलाई हेर्न स्थानीयवासी र संस्कृतिप्रेमीको ठूलो भीड लाग्ने गर्छ । यस नाचमा सिंघ्रिणी (श्वेत वर्ण), भैरव (नील वर्ण), गणेश (श्वेत वर्ण), कुमार (रक्त वर्ण), ब्रम्हायणी (कुकुम वर्ण), महेश्वरी (श्वेत वर्ण), कौमारी (रक्त वर्ण), वैष्णवी (हरित वर्ण), बाराही (रक्त वर्ण), इन्द्रायणी (कुुकुम वर्ण), चामुण्डा (रक्त वर्ण),  महालक्ष्मी (रक्त वर्ण),  व्याघ्रिणी (पीत वर्ण) का १३ देवगणहरू सहभागी हुन्छन् । 

युवा वाद्ययवादक शैलेन्द्र शाक्य विगत २६ वर्षदेखि अष्ठमातृका नाचमा कौमारी, भैरव बनेर, आयर्म बज्राचार्यले सिंघ्रिणी र सुप्रिन्स शाक्यले समेत विगत दश वर्षदेखि व्यघ्रिणीको भूमिकामा नाच्दै आएका छन् ।

आहारविहार शुद्धी गरी घटस्थापनाको अघिल्लो रात तन्त्र साधना गरिसकेपछि बिहान न्याखाचुकको नित्यनाथ मन्दिर प्राङ्गणमा देवगण कलेवर पोसाक, गरगहनासहित तर मुकुन्डो नलगाई त्यहाँबाट क्रमबद्ध भएर नागबहाल हुँदै नकवहिल पुग्ने गर्छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan