Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, २६ असोजः दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ । 
   
सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो । राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको लाम लागेको छ ।
     
शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वाजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ ।

मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ । यसैगरी नक्साल भगवती मन्दिर परिसरलाई आकर्षक रुपमा सजाइएको छ ।

नवरात्रका अवसरमा नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएका  छन् ।
   
यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा समेत भक्तजनको भीड लागेको  छ । 
  
शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा आराधना गरिन्छ । 

नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।

दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका  लगाउँछन् । 
 
यसैगरी, दसैँका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो  बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् ।

सार्वजनिक यातायातमो राम्रो व्यवस्थित नहुँदा दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुले धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भए पनि सार्वजनिक यातायात व्यवस्थापन गर्न कसैको ध्यान जान नसकेको गुनासो आममानिसले गर्ने गरेका छन् । यस वर्ष बाढीले रसुवा, धादिङ, गोरखा, मुस्ताङलगायत जिल्लामा सडक एवं पुल संरचनाले गर्दा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan