Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)
newsabhiyan

सर्लाही, ६ असोजः नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित  भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि  सुरुआत भएको छ । 

हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो ।

सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने  भएको छ । भरतपुर आँखा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा गाउँमा नै पाएपछि स्थानीय उत्साहित बनेका छन् । 

उपचार केन्द्रमा सेवा लिन आउनुभएकी हरिपुर्वा–३, कि रुपनी देवीले गाउँमै सेवा पाएको जनाउँदै खुसी व्यक्त गर्नुभयो । आँखा उपचारको लागि टाढा धाउनुपर्दा धेरै खर्च भएको उहाँको अनुभव ताजै छ ।

“दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो”, उहाँले सुनाउनुभयो, “उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो । दुःख धेरै पाइयो, खर्च उस्तै भयो । अहिले सबै सुविधा गाउँमै आयो ।”

अस्पतालमा चिकित्सक सधैँ बस्नुपर्ने उहाँको माग छ । सेवा सुरु गरेको केही समयपछि बन्द हुने समस्याले आफूहरू आजित भएको जनाउँदै स्वास्थ्य सेवा निरन्तर पाए आसपासका पालिकाका नागरिकले समेत सेवासँगै राहत पाउने उहाँले बताउनुभयो ।

हरिपुर्वा नगरपालिका, स्वास्थ्य शाखा प्रमुख लालबाबु रायले अब आँखाका बिरामीले अन्योलमा भौतारिनुपर्ने, टाढा धाउनुपर्ने समस्या नहुने जानकारी दिनुभयो ।

नगरप्रमुख विनोदकुमार साह तेलीले आँखाका बिरामीको लागि आवश्यक उपचार सामग्री, औषधिलगायतको व्यवस्थापन गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएकोे जानकारी दिनुभयो ।

केन्द्रले आवश्यकताअनुसार बेलाबेलामा मोतिया विन्दुको शल्यक्रियालगायतको निःशुल्क शिविर सञ्चालन गरेर सेवा दिने उहाँको भनाइ छ । नगरका वयोवृद्ध आमा, बुबाले अब आँखाको ज्योति खोज्न भौतारिनु नपर्ने उहाँले दाबी गर्नुभयो । सेवा सञ्चालन भएसँगै आँखाका बिरामीको आकर्षण बढेको नगर स्वास्थ्य शाखाले जनाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan