खजुरा क्यान्सर अस्पतालमा बन्द उपकरण सञ्चालनमा
बाँके, ४ असोजः बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिव छ महिनादेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक)ं र ब्रेकीथेरापी मेसिन सञ्चालनमा आएका छन् ।
अस्पतालमा लिन्याक मेशिनको गुणस्तर समेत मापन गरेर बिरामीलाई सेवा दिन सुरु गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निमित्त निर्देशक आशा पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मेशिनसँगै ब्रेकीथेरापी मेसिन समेत सञ्चालनमा ल्याइएको छ । अत्याधुनिक ती उपकरण सञ्चालन नहुँदा बिरामीहरु भारतको लखनउ, बहराइच लगायतका प्रमुख शहरमा जान बाध्य भएका थिए ।
अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार लिन्याक र ब्रेकीथेरापी मेसिनमा प्राविधिक समस्या आएपछि रेडियोथेरापी सेवा लिन आउने बिरामी अन्यत्र जान बाध्य भएका थिए । अस्पालले सोमबारदेखि बिरामीलाई नियमित रूपमा रेडियोथेरापी सेवा लिन आग्रह गरेको छ ।
रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि आउने बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको सूचना अधिकारी डा गुप्ताको भनाइ छ । उहाँका अनुसार क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो । लिनियर एक्सिलरेटरबाट शरीरको क्यान्सर प्रभावित भागमा आवश्यक मात्रामा विकिरण पु¥याएर उपचार गरिन्छ भने ब्रेकीथेरापीमा उपचार आवश्यक पर्ने स्थानको नजिकै विकिरण स्रोत राखेर उपचार गरिन्छ । अस्पतालमा यी दुवै प्रविधि सञ्चालनमा आएपछि पश्चिम नेपालका क्यान्सर बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालले पश्चिम नेपालसहित आसपासका क्षेत्रका क्यान्सर बिरामीलाई पायक पर्ने स्थानमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार सेवा विस्तार गर्दै आएको छ । अस्पतालमा रेडियोथेरापीका अतिरिक्त किमोथेरापी, क्यान्सर शल्यक्रिया, ब्रेकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रेलगायतका सेवा उपलब्ध छन् ।
अस्पतालमा गम्भीर बिरामीका लागि अत्याधुनिक सघन उपचार कक्ष पनि रहेको छ । आकस्मिक बिरामीका लागि २४सै घण्टा इमर्जेन्सी सेवा, शल्यक्रिया, डे केयर, रक्तसञ्चार, इसिजी तथा इकोलगायतका सेवा सञ्चालनमा छन् । त्यसैगरी २४सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे तथा एम्बुलेन्स सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । ती मेशिन बन्द हुँदा उपचार सेवा प्रभावित भएको थियो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई लक्षित गरी सञ्चालनमा ल्याएको सो अस्पताल पश्चिम नेपालमै सरकारी क्षेत्रबाट सञ्चालित प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा विकास भइरहेको छ ।
