खोरतविरुद्ध खोप लगाइँदै
भोजपुर, ६ असोजः भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले भोजपुरका नौवटै स्थानीय तहमा यही असोज ८ गतेदेखि आगामी कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।
खोप सहजकर्तालाई आवश्यक तालिम दिएर सबै पालिकामा खटाइएको उहाँले बताउनुभयो । अभियान सुरु हुनुपूर्व ७६ जना खोपकर्तालाई एक दिने ‘खोप अभिलेखीकरण’सम्बन्धी सफ्टवेयर सञ्चालन तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । “भोजपुरमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ”, प्रमुख दाहालले भन्नुभयो, “यो अभियानका लागि हामीलाई ६१ हजार डोज खोप प्राप्त भएको छ । किसानकै गोठमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।”
रोग नियन्त्रणसँगै उत्पादन वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको प्रमुख दाहालले बताउनुभयो । अभियानले ग्रामीण क्षेत्रका किसानलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ । कार्यालयका अनुसार, पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ ।
अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारको जानकारी नहुँदा समस्या भोग्दै आएका छन् । पशुमा लाग्ने रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै हुने प्रमुख दाहालले बताउनुभयो ।
खोप अभियानले कृषकलाई आर्थिक रूपमा सबलसँगै पशुजन्य उत्पादन वृद्धि गर्न र रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने विज्ञ केन्द्रले जनाएको छ ।
