बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
बागलुङ, ६ भदौः धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो ।
यसअघि ६१ मिर्गौलापीडितलाई सेवा दिँदै आएको अस्पतालले चार वटा उपकरण थप गरेपछि अब ७१ जनालाई सेवा दिन सहज भएको छ । क्षमता विस्तारसँगै अस्पतालमा डायलाइसिस उपकरणको सङ्ख्या १२ पुगेको छ ।
पालो कुर्ने बिरामीको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवनको क्षमता विस्तार गरी सेवा थप गरिएको डायलाइसिस शाखाप्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरुवा रोग लागेका मिर्गौलाका बिरामीका लागि छुट्टै शय्याकोसमेत व्यवस्था गरिएको छ । यसअघि छुट्टै शय्या नहुँदा अन्य बिरामीमा सरुवा रोग सर्न सक्ने जोखिम थियो ।
मिर्गौलाले काम गर्न छाडेका बिरामीले स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि पटकसम्म डायलाइसिस गर्नुपर्ने हिताङले बताउनुभयो ।
सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा रु २० लाख र अस्पताल व्यवस्थापन समितिको रु २० लाख गरी रु ४० लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त रकमबाट भवनको एक तला थप गर्नुका साथै आवश्यक चार वटा डायलाइसिस उपकरण खरिद गरिएको हो ।
“डायलाइसिस विभागको भुइँतलामा एकतला थपगरी आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा विस्तार गरिएको हो”, अध्यक्ष शर्माले भन्नुभयो, “लामो समयदेखि पालो कुरेर पोखरादेखि काठमाडौँसम्म पुगेर डायलाइसिस गराउँदै आएका मिर्गौला फेल भएका १० जना सेवाग्राहीलाई थप सेवा दिन थालिएको छ ।
सेवा विस्तारपछि पालो नपाएर डायलाइसिसका लागि पोखरा तथा काठमाडौँ जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
