नेकपाको सदस्यता नवीकरण अभियान सुरु
कर्णाली, ५ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले ‘एकमहिने सदस्यता नवीकरण विशेष अभियान’ सुरु गरेको छ ।
नेकपा कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमार्फत सदस्यता नवीकरणको विशेष अभियान सुरु गरिएको पार्टीका प्रदेश संयोजक विमिला केसीले जानकारी दिनुभयो । प्रदेश समितिको बैठकले निर्णय गरेबमोजिम विशेष अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
“हालसम्म ३३ हजार सदस्यको सदस्यता नवीकरण भएको छ”, संयोजक केसीले भन्नुभयो, “प्रत्येक केन्द्रीय सदस्यको नेतृत्वमा सम्बन्धित स्थानीय तह र प्रदेश समितिका सदस्य र स्थानीय तहका पदाधिकारी सम्मिलित संयुक्त टोली बनाएर नवीकरणको कामलाई व्यापक र प्रभावकारी बनाइने छ ।”
त्यस्तै, टोलटोलमा पुगेर सदस्य नवीकरणको महत्व, पार्टी राजनीतिक वैचारिक कार्यदिशा र देशको समसामयिक स्थिति र सदस्यको जिम्मेवारीका विषयमा भेला तथा प्रशिक्षण गरिने सो पार्टीले जनाएको छ ।
यस्तै, पार्टीको अनुगमन र मूल्याङ्कन प्रणाली, युवा सहभागिता बढाउनेबारेमा अभियान केन्द्रित रहनेछ ।
---
