कालो रोबिन ‘बर्ड अफ द इयर’
वेलिंग्टन, ५ असोज : न्युजिल्यान्डमा गम्भीर रूपमा लुप्तप्राय कालो रोबिनलाई यस वर्षको ‘बर्ड अफ द इयर’ घोषणा गरिएको छ । प्रतियोगितामा यसपटक कीर्तिमानी एक लाख पाँच हजारभन्दा बढी मत परेको थियो ।
दक्षिण टापुको पूर्वी तटबाट करिब आठ सय किलोमिटर टाढा चाथम टापुमा पाइने कालो रोबिन कुनै समय लोप हुने अवस्थामा पुगेको थियो । सन् १९८० को दशकमा एउटा प्रजननयोग्य पोथीसहित पाँचवटा मात्र कालो रोबिन बाँकी थिए । अहिले दुई संरक्षित क्षेत्रमा करिब ३५० वटा रहेको बताइएको छ ।
कालो रोबिनले उडानविहीन सुगा काकापो र देशी करेया बाजलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो । यसले २६ हजारभन्दा बढी मत पाएको छ ।
स्वतन्त्र संरक्षण संस्था फरेस्ट एन्ड बर्डले आयोजना गर्ने यो प्रतियोगिता विगतमा विवादमा समेत परेको थियो । सन् २०१९ मा न्युजिल्यान्डका आइपी ठेगानाबाट सयौँ मत परेपछि विदेशी, विशेषगरी रुसी हस्तक्षेपको आरोप लागेको थियो । संस्थाले भने अधिकांश मत वैध रहेको जनाएको थियो ।
यस वर्ष मतदाताको सङ्ख्या बढ्नुमा विदेशी हस्तक्षेपको भूमिका नरहेको फरेस्ट एन्ड बर्डकी रेबेका ह्याचले बताउनुभयो । उहाँका अनुसार एक लाख पाँच हजार मानिसले आफ्नो मनपर्ने चरालाई मतदान गरेका थिए ।
“न्युजिल्यान्डवासीहरूले वास्तवमै प्रकृतिका पक्षमा आवाज उठाएका छन् । प्रत्येक ५० जनामध्ये करिब एक जनाले मतदान गरेका छन्”, उहाँले भन्नुभयो ।
यसअघि सन् २०२३ मा हास्य कलाकार जोन ओलिभरको समर्थन पाएपछि पुटेकेटेकले उपाधि जितेको थियो ।
चाथम आइल्यान्ड्स ल्यान्डस्केप रिस्टोरेशन ट्रस्टले कालो रोबिनको संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएको छ । ट्रस्टले यसको सङ्ख्या र जैविक विविधता बढाउन थप एउटा सुरक्षित बासस्थान निर्माण गर्ने योजना अघि बढाएको छ ।
