यु–१६ अन्तरविद्यालय बास्केटबल भोलिदेखि
नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ४० टिमको सहभागिता रहने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
अध्यक्ष प्रधानले ग्रासरुटदेखि नै बास्केटबलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउदै प्रतियोगिता सञ्चालन गर्न करिब १८ देखि २० लाख रुपैयाँ खर्च हुने बताए ।
प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाले राष्ट्रिय टिमलाई बलियो बनाइ राख्न विभिन्न उमेरसमूहका प्रतियोगिताले प्राथमिकता पाउनु पर्नेमा जोड दिए ।
नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले प्रतियोगिता यु–१६ साबा बास्केटबलका लागि प्रारम्भिक खेलाडी छनोटका रुपमा समेत रहेको बताए ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा नेपालयको योगदान प्रशंसनीय रहेको बताए ।
प्रतियोगिता लिग कम नकआउट पद्धतिमा खेलाइने प्रतियोगिता संयोजक डिकेश प्रधानले जानकारी दिए । असोज १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल र त्यसैको छेउमा रहेको आउटडोर कोर्टमा खेलाइने छ ।
