Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवाको चेतावनी : ‘अवैधानिक महाधिवेशनको मूकदर्शक भएर बस्दिनँ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |
newsabhiyan

काठमाडौं, १ असोज ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र संस्थापन पक्षले अघि बढाउन लागेको महाधिवेशनप्रति कडा आपत्ति जनाउँदै त्यसलाई अवैधानिक प्रक्रिया भएको दाबी गरेका छन्। उनले पार्टीको विधि, विधान, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत एकपक्षीय रूपमा महाधिवेशन अघि बढाइए आफू मूकदर्शक भएर नबस्ने चेतावनी दिएका छन्।

सार्वजनिक अपिलमार्फत देउवाले प्रस्तावित महाधिवेशन पार्टीको हितविपरीत रहेको दाबी गर्दै नेता तथा कार्यकर्तालाई त्यसमा सहभागी नहुन आग्रह गरेका छन्।

विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतको अन्तिम निर्णय नआउँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु कानुनी र संवैधानिक दृष्टिले उपयुक्त नहुने देउवाको भनाइ छ। सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको सन्दर्भले समेत विषयमा गम्भीर कानुनी प्रश्न रहेको उनले उल्लेख गरेका छन्।

देउवाले पार्टीका अनुभवी नेतृत्व र बहुसंख्यक कार्यकर्तालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा अघि बढ्ने प्रयासले कांग्रेसको संगठन थप कमजोर बन्न सक्ने बताएका छन्। विशेष महाधिवेशन आवश्यक पर्नुको कारणसमेत स्पष्ट रूपमा प्रस्तुत हुन नसकेको उनको जिकिर छ।

आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नभएको स्पष्ट पार्दै देउवाले पार्टी र राज्यले आवश्यक ठानेसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्। उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको दाबी गरेका छन्।

पार्टीभित्रको विवाद समाधानका लागि सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै देउवाले एकपक्षीय ढंगले महाधिवेशन अघि बढाइए त्यसको प्रतिवाद गर्ने संकेतसमेत दिएका छन्।

उनको अपिलसँगै कांग्रेसभित्र लामो समयदेखि जारी महाधिवेशनसम्बन्धी विवाद थप पेचिलो बन्ने देखिएको छ। विवादको केन्द्रमा रहेको विशेष महाधिवेशनको वैधता र त्यसबाट हुने निर्णयको राजनीतिक तथा कानुनी स्वीकार्यतामाथि अब थप बहस हुने देखिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan