Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)
newsabhiyan

गण्डकी, ३१ भदौः गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । 

मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताउनुभयो । 

गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकामा साउनमा त्यो सङ्ख्या बढेर एक हजार २४७ पुगेको थियो । भदौ लागेयता ३८२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २२८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिनुभयो ।
 
त्यस मध्ये सबैभन्दा बढी बागलुङमा १७० जनामा सङ्क्रमण देखिएको छ । सोही अवधिमा कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जा चार, तनहुँ तीन र लमजुङमा दुई जनामा उक्त  सङ्क्रमण पुष्टि भएको थियो । 

अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ”, निर्देशक मिश्रले भन्नुभयो, “जोखिम भने कायमै रहेकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ ।”

प्रदेशभरिमा बागलुङ नगरपालिका डेङ्गुबाट सबैभन्दा बढी प्रभावित भएको उहाँको भनाइ छ । पछिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका २२८ मध्ये ५७ जना त्यस नगरपालिकामा रहेका छन् । बागलुङपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहमा सङ्क्रमण बढी देखिएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गु सङ्क्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गुले प्रकोपको रुप लिने उहाँको भनाइ छ । डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । 

डेङ्गु नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ । 

डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रममा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने चिकित्सकको सुझाव छ । उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उहाँहरु बताउनुहुन्छ ।

डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । 

असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गरेको केन्द्रका निर्देशक मिश्रले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र यसले दिनमा मात्र टोक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan