घिसिङ डाँडामा नवनिर्मित बुद्ध मूर्ति तथा सिँढीको प्राण प्रतिष्ठा तथा उद्घाटन
सिन्धुली — बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति चिरशान्तिको कामना गर्दै सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–४ स्थित घिसिङ डाँडामा नवनिर्मित बुद्ध मूर्ति तथा सिँढीको प्राण प्रतिष्ठा एवं उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेशका माननीय तथा पूर्व संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले गर्नुभएको हो।
कार्यक्रमको सभापतित्व निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुकुमार वाइवाले गर्नुभएको थियो। कार्यक्रममा घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान, वडा नं. ४ का अध्यक्ष अमृत वाइवालगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा डम्बर कर्माचार्य, श्याम कर्माचार्य, विष्णुकुमार कर्माचार्य, निर्मल श्रेष्ठ, इन्द्रकमल श्रेष्ठ, नवीन वाइवा, चञ्चल श्रेष्ठ, पुण्यराज शाक्य, रविन तण्डुकार, मदन गोपाल धुँजु श्रेष्ठ, गौतम तण्डुकारलगायतको उपस्थिति थियो।
घिसिङ डाँडामा बुद्ध मूर्ति तथा सिँढी निर्माणका लागि आवश्यक बजेट बागमती प्रदेशका माननीय दिपेन्द्र श्रेष्ठमार्फत विनियोजन भएको जनाइएको छ। विकास निर्माणका लागि विशेष पहल गरेको भन्दै घ्याङ्लेख गाउँपालिका वडा नं. ४ र ५ का स्थानीयवासीले श्रेष्ठप्रति आभार व्यक्त गरेका छन्।
नवनिर्मित बुद्ध मूर्ति तथा सिँढीले घिसिङ डाँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। यस संरचनाले स्थानीय स्तरमा आन्तरिक पर्यटक आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले आपसी सहकार्य नै विकासको प्रमुख माध्यम भएको बताउँदै गाउँपालिकामार्फत पनि विकासका लागि विशेष बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
त्यस्तै, प्रमुख अतिथि दिपेन्द्र श्रेष्ठले आफू यस क्षेत्रको प्रत्यक्ष प्रतिनिधि नभए पनि विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भाषण र आश्वासनभन्दा पनि व्यवहारमै काम गरेर देखाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा घ्याङ्लेखको विकासका लागि अझ सशक्त र निःस्वार्थ रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन नवीन वाइवाले गर्नुभएको थियो भने स्वागत मन्तव्य विष्णुकुमार कर्माचार्यले राख्नुभएको थियो।
घिसिङ डाँडामा निर्माण भएको बुद्ध मूर्ति र सिँढीले धार्मिक आस्था, स्थानीय संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोड्दै घ्याङ्लेख क्षेत्रमा आन्तरिक पर्यटनको नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।
