सोलिडारिटी कप फुटबलको उपाधि विजेता नेपाली टोलीको भव्य स्वागत: राति नै नगर परिक्रमा
मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको नेपाली टोलीको बुधबार राति भव्य स्वागत गरिएको छ ।
बुधबार राति आइपुगेको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद तथा अखिल नेपाल फूटबल संघ पदाधिकारी र फुटवलप्रेमी तथा समर्थकले भव्य स्वागत गरेका हुन् ।
पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै नेपाली टोलीका कप्तान विराज महर्जनले टोलीको एकताले नै आफूहरु उपाधि जित्न सफल भएको बताए । नेपालले मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराएर उपाधि जितेको हो ।
एसियाली फुटबल महासंघ एएफसीको आधिकारिक प्रतियोगितामा पहिलो पटक उपाधि जितेको नेपाली टोलीको स्वागतका लागि धेरै समर्थक राति नै भएपनि त्रिभुवन विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट सुरु भएको विजय र्याली गौशला, मैतीदेवी, भद्रकाली, त्रिपुरेश्वर, पुल्चोक, मंगलबजार हुँदै एन्फा कम्प्लेक्स सातदोबाटो पुगेर टुंगिएको थियो ।
